जनकपुरधाम- सार्वजनिक वन क्षेत्र अतिक्रमण गरि बनाइएको घर टहराहरू डिभिजन वन कार्यालय धनुषाले हटाएको छ । डिभिजन वन प्रमुख बेचन चौधरीको अगुवाइमा धनुषाको राष्ट्रिय वन क्षेत्रका करिब ३० हेक्टर क्षेत्रफलमा गरिइएको अतिक्रमण हटाउने काम सम्पन्न भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नंं ११ मा रहेको सुन्दरी सामुदायिक वनको करिब १० हेक्टर क्षेत्रफलको अतिक्रमित वनलाई खाली गराएर सो ठाउँमा व्यक्तिले लगाइएको मकै सहितको अन्य बालीहरू नष्ट गरि वृक्षारोपण गर्ने काम भएको डिभिजन वन प्रमुख चौधरीले जानकारी दिनु भएको छ । अतिक्रमण मुक्त भएको वन क्षेत्रमा वनमा आधारित जातका वृक्षहरू लगाउने काम भएको छ ।
यसै गरि धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नंं ६ का पञ्चपौरी सातपतरेको १७ हेक्टर अतिक्रमित बनक्षेत्रलाई अतिक्रमणमुक्त गर्ने काम भएको छ । वन क्षेत्रको अतिक्रमण खाली गराएर सो ठाउँमा विभिन्न जातको जङ्गली बिरुवा लगाउनुका साथै तारवार गरिने काम भएको छ । वर्षा नभएका कारणले बिरुवाको संरक्षणमा समस्या रहेको वन अधिकृत चौधरीले जानकारी दिनु भएको छ ।
वन क्षेत्र खाली गराउने क्रममा उल्लेख्य सङ्ख्यामा वन रक्षक परिचालन गर्नुका साथै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालसंग समन्वय गरेर थप सुरक्षा मद्दत माग गरिइएको कारणले कुनै प्रकारको अप्रिय घटना नभएको जानकारी वन अधिकृतले दिनु भएको छ । वन क्षेत्रमा सिन्धुली, पोखरा तथा रामेछापसम्मका मान्छेहरू आएर बसोबास गर्दै आएका थिए । वन क्षेत्रमा बढेको अतिक्रमण तथा चुरे विनाशका कारणले तराई मधेशको चापाकल तथा पम्पीसेटहरु सुक्न थालेको छ । वर्षा नभएर अहिले खेती हुन सकेको छैन ।
वनको संरक्षण तथा चुरेको विनाशका लागि आफूहरूको अभियान निरन्तर रुपमा जारी रहने जिल्ला वन अधिकृत बेचन चौधरीले दिनु भएको छ । गलत नियतले वन क्षेत्र अतिक्रमण गर्ने काम हुने गरेको छ । वन अतिक्रमणले केहीलाई लाभ पुगेपनि बहुसङ्ख्यक व्यक्ति तथा देशलाई नै समस्या निम्त्याउने गरेको कारणले थप अतिक्रमित ठाउँको वन क्षेत्र खाली गराउनु पर्ने माग हुन थालेको छ ।




