काठमाडौँ- चेल्सी इन्टरनेसनल स्कुलले फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले पन्छाउँदै शुक्रबार एनएमबी–कपअन अन्तरस्कुल यू-१४ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुढानीलकण्ठ नगरपालिका– १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा आयोजित तीन दिने प्रतियोगिताको फाइनलको एकमात्र गोल चेल्सीका स्ट्राइकर आदित्य शाहले गरे । उनले २० मिनेटको प्रतिस्पर्धाको दोस्रो हाफको अन्त्यतिर गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाएका हुन् । उनी प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी घोषित भए ।




सेमिफाइनलमा चेल्सीले ब्रम्हकुञ्जलाई २–१ र मनकामनाले रिब्सलाई ४–० ले पराजित गरेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा रिब्स (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले ब्रम्हकुञ्जलाई १–० ले हरायो । क्वाटरफाइनलमा चेल्सीले जोसेफ हाईस्कुललाई २–०, मनकामनाले वेदव्यासलाई ३–०, रिब्सले लिभिङ वर्डलाई २–१ र ब्रम्हकुञ्जले माउन्ट ग्लोरीलाई गोलरहति बराबरीपछि पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
चेल्सीका आयुष यादवले बेस्ट गोलकिपर र नकआउट चरणमा चार गोल गरेका मनकामनाका कप्तान अनिष दंगालले सर्बाधिक गोलकर्ताको पुरस्कार हात पारे । फेयर–प्ले टिमको अवार्ड हाईली क्रिएटिभ स्कुलले प्रप्त गर्यो । लिग कम नकआउटको आधारमा आयोजित प्रतियोगितामा २९ स्कुलका ३० टिमले प्रतिस्पर्धा गरेका थिए ।
संघीय सांसद एवम् पूर्वमन्त्री गगनकुमार थापा, एनएमबी बैंकका सीईओ (प्रमुख कार्यकारी अधिकृत) सुनिल केसी, डेपुटी सीईओ सुदेश उपाध्याय, भायनेटका चेयरमेन विनय बोहरा, गैरआवासीय नेपाल संघ (एनआरएनए) का सीईओ राजेन्द्र राउत, आयोजक कपअन स्पोर्ट्स सेन्टरका सीईओ एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, गोलकिपर एवम् मछिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठलगायतले विजेता टिम तथा खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।-कान्तिपुर




