
जनकपुरधाम- अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्दा जनताको आवाज थुनिएको बताएका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्क संगत हुननसक्ने धारणा राखे ।
नेपाली कांग्रेसका प्रवक्ता डा महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे ।
मन्त्री डा महतले संसद्मा गतिरोध उत्पन्न गरिएका कारण संसद्मा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न नसकिएको बताए ।
मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेस सहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको पनि बताए ।