
महोत्तरी - डिभिजन वन कार्यालय महोत्तरीले गोप्य टेन्डर गरेर कमिशनको तालमेल गरी योजना वितरण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले छानविन शुरु गरेको छ ।डिभिजन वन कार्यालय प्रमुख अजय कुमार मिश्रले २० देखी ३० प्रतिशत सम्म कमिशन लिएर योजना गोप्य पारेर कागजी मिलान गरी आफनै आफन्तलाई योजना वितरण गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीको अधारमा अख्तियारले छानविन शुरु गरेको छ ।
यो पनि पढ्नुहोस : - टेन्डर गोप्य पारेर वनको योजना आफन्तलाई
डिभिजन वन प्रमुख मिश्रले कमिशनको आडमा बर्दिबास सव डिभिजन वन कार्यालय गौरीडाँडाको मर्मत सम्भारमा १० लाख , गढन्ता सव डिभिजन वन कार्यालय गौशालाको मर्मत सम्भारमा १० लाख , सशस्त्र वन सुरक्षा शाखा माइस्थानको मर्मत सम्भारमा १० लाख,टुटेश्वरनाथ सव डिभिजन वन कार्यालयको मर्मत सम्भारमा १० लाख,बाँके मरहा सव डिभिजन वन कार्यालयको मर्मत सम्भारमा १० लाखको योजना टुक्राएर वन प्रमुख मिश्रले मोटो कमिशन लिएर योजना वितरण गरेको वनकै कर्मचारीहरुले नाम नछाप्ने शर्तमा बताएका थिए ।

यता कार्यालयको विभिन्न योजनामा व्यापक अनियमितता देखिएको भन्दै स्थानियहरुले अख्तियारमा उजुरी दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले ५ वटै सव डिभिजनमा पुगेर स्थलगत नाप जाँच ,सोधपुछ गरेर केही फाइल समेत आफनो नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
डिभिजन वन कार्यालय महोत्तरीले कुनै पनि योजनाको टेन्डर आहवान गर्दा गोप्य राखिन्छ । वनका कर्मचारी र वन प्रमुख आफना नजिकका निर्माण कम्पनीलाई टेन्डर भर्न लगाउँछ र मिलोमत्तोमा टेन्डर पारिदिए बापत कर्मचारीहरुले २० देखी ३० प्रतिशत सम्म कमिशन लिन्छन ।
वन कर्मचारीहरुले यसरी निर्माण कम्पनी सँग मिलोमत्तो गरी काम गराउँदा राज्यलाई आर्थिक नोक्सान मात्र भइरहेको छैन ,वनका कर्मचारीहरु मलामाल भइरहेका छन भने काम गुणस्तरहीन भइरहेको छ ।