जनकपुरधाम – भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम सुरु हुने भएको छ।
रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भंगहादेखि बर्दिबाससम्म बाँकी रहेको रेलमार्ग निर्माण हुन लागेको जनाएको छ। त्यसका लागि रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली मंसिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ।



विभागले भंगहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उप–खण्ड एवं पूर्व–पश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो।
विभागले मंसिर १५ गतेपछि पनि बालीनाली लगाएमा त्यसको क्षतिपूर्ति नदिनेसमेत जनाएको छ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ। पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म, दोस्रो चरणमा कुर्थादेखि भंगहासम्म निर्माण पूरा भई रेल सञ्चालनमा आइसकेको छ भने तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म निर्माण हुन लागेको छ।




