
कुनै समय नेपालको राजनीतिमा उथलपुथ ल्याउने क्षमता राख्ने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को स्थपाना भएको आज दुई वर्ष पूरा भएको छ । पार्टीले स्थापना दिवस मनाइरहदाँ लोसपाको जनधार रहेको मधेश प्रदेशको राजधानी जनकपुरधाममा भने पार्टीको गतिविधि शून्य छ । पार्टीले न कुनै कार्यक्रम राखेको छ न कार्यकर्ताहरूमा कुनै उत्साह देखिन्छ । सर्वसधारण भन्दा पनि पार्टीका सक्रिय कार्यकर्तालाई नै थाहा छैन आज पार्टीको स्थापना दिवस हो भनेर ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा १७ सिट ल्याएर मुलुकको तेस्रो शक्तिको रुपमा उदाएका महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले लोसपासम्मको यात्रा गर्दा अस्तिृत्व नै समाप्त हुने अवस्थामा पुगेको छ । तत्कालीन राजपा र तत्कालीन संघिय समाजवादी पार्टी मिलेर जसपा निर्माण भएको थियो । तर २०७९ सालको निर्वाचनअघि नै जसपा विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भयो । र यो पार्टी प्रतिनिधिसभामा ४ सिटमा सीमित मात्रै भएन राष्ट्रिय पार्टीका लागि थ्रेस होल्ड पनि कटाउन सकेन । लोसपा २०७९ सालको निर्वाचनमा मधेश प्रदेशमा ९ र लुम्बनी प्रदेशमा ३ सिटमा सीमित भयो ।
चर्चित नेता रेशम चौधरीलाई पाटीर्मा जोडर राख्न नसक्दा लोसपाको हातबाट सुदूरपश्चिमको मत पनि फुत्कियो । त्यसैगरी, २०७४ सालको स्थानीय तहको निर्वाचनमा २६ पालिका प्रमुखसहित १ हजार १११ जना जनप्रतिनिधि निर्वाचित गराउन सफल भएका अध्यक्ष ठाकुर २०७९ सालको निर्वाचनमा ४ पालिका प्रमुखसहित मात्र १ सय ५२ जना जनप्रतिनिधिमा खुम्चिए ।
दुई वर्षअघि अलग पार्टीको रुपमा जसपासँग विभाजित भएको लोसपाले यो अवधिमा जो गुमाएका छ त्यो पूरा गर्न दशक लाग्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ । कांग्रेस त्याग गर्दा जुन धार लिएर मधेशको राजनीतिमा ठाकुर सक्रिय भएका थिए, अहिले जीवनको उत्तराद्र्धमा त्यो धारलाई उनले बागमतीमा विर्सजन गरेको उनीमाथि आरोप लगाउनेहरू छन् । मधेश आन्दोलन ताका मधेश मुद्दामा काठमाडौ तताउने युवाहरू अहिले ठाकुरलाई छोडेर सिके राउतको जनमततर्फ आकर्षित हुन थालेका छन् ।गत ५ भदौमा मात्रै लोसपाका युवा नेता तथा युवा संघका केन्दीय सदस्य रिकी सिंहको नेतृत्वमा दर्जानौ युवाहरू जनमतमा प्रवेश गरे । त्यसको एक महिना अघि मात्रै लोसपाका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज सशत सिंह यादव, पार्टीका वीरगंज महानगरपालिकाका नगर अध्यक्ष ओमप्रकाश सरार्फलगायतका नेता तथा कार्यकर्ताहरू जनमतमा प्रवेश गरेका छन् । यी नेता तथा कार्यकर्ताहरू लोसपाका ठूला योद्धाहरू थिए, जसको जिल्लादेखि काठमाडौंसम्म पार्टीलाई गतिशिल बनाउन ठूलो भूमिका हुन्थ्यो ।
लोसपाका एक नेताको भनाइमा लोसपा अब लोसपा रहेन । नेतृत्वको असक्षमता र मौनताले अब लोसपा लोप हुने अवस्थामा पुगेको छ । ‘जसपाबाट अलग हुँदा लोसपाको कार्यकारणी समिति ३० सदस्यीय थियो । तर अहिले बैठक हुँदा १० जना पनिको उपसस्थिति हुँदैन’, लोसपाका एक नेताले भन्छन्, ‘एक त कार्यकारणी समितिको बैठक नै हुँदैन । यो दुई वर्षको अवधिमा ३/४ पटक मात्रै बैठक भएको होला । तर यी बैठकहरूमा १०/१२ जनाभन्दा बढी उपस्थित हुँदैनन् ।’ पार्टीका नेतृत्व तह नै निक्रिय हुँदा त्यसको प्रभाव जिल्ला र प्रदेशमा पर्नु स्वाभाविक रहेको उनी बताउँछन् ।
लोसपा बनेको दुई वर्ष भएको छ । तर अहिलेसम्म जिल्ला कमिटीहरू गठन भएका छैनन् । जिल्लामा पार्टी विभाजन ताका तोकिएको तर्दथ समितिहरू मात्रै छन् । भ्रातृ संगठनहरूको अवस्था त पार्टीको संठनभन्दा दयीनय छ । कुनै भ्रातृ संगठन सक्रिय छैनन् । स्ववियु विर्नाचन ताका विद्यार्थी मंच थौरै सक्रिय भएको थियो । त्यसमा पनि विवाद भएर कुनै पनि क्याम्पसमा जित्न सकेनन् । जनकपुरधामको राराब क्याम्पसमा मात्रै स्ववियुको सचिवमा निर्वाचित भए ।
यसरी पछिल्लो दुई वर्षको अवधिमा पार्टीको अस्तृत्वि नै संकटमा पर्ने गरी ग्राफ ओरालो लाग्नुको मुल कारण पार्टी नेतृत्वको अक्षमतता, गतिहिनता रहेको पार्टीकै नेताहरूको भनाइ छ । लोसपाका एक जना प्रदेश सासद भन्छन, ‘ठाकुरजी जीवनको उत्तराद्र्धमा हुनुहुन्छ । अब उहाँमा ऊर्जा छैन । मुद्दाप्रतिको लगनशिलता छैन । न त कुनै इच्छा पूरा हुन बाँकी छ । उहाँले जे पाउनुपर्ने थियो, त्यो सबै पाइसक्नुभएको छ । अब के का लागि संर्घष गर्छन् ? पार्टीलाई गतिशिल बनाउने नेतृत्वले हो, नेतृत्व नै गतिहिन भएपछि पार्टीको हविगत यस्तै हुन्छ । त्यसकारण उहाँले अब आफ्नो स्वइच्छाले कसैलाई जिम्मेवारी हस्तारण गरेपछि मात्रै पार्टीको अस्तिृत्व जोगिन्छ ।’तत्कालीन राजपा अलग भई पुनः गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीका नेता मोहम्मद असगर अली लोसपा ओरालो लाग्नुको पछाडि लोसपाभित्र रहेका शीर्ष नेतृत्वबीच वैचारिक एकता नहुनु प्रमुख कारण रहेको बताउँछन् । ‘लोसपामा धेरै नेताहरू छन, तर एकको अर्कोसँग बिचार मिलेको देखिँदैन । सबैले आ आफ्नै पार्टीको नेतृत्व गरेर आएका छन् ।’
उनी अगाडि भन्छन्, ‘सबैले कुनै पनि निर्णयमा सबैले आफ्नो भलो खोज्छन्, आफ्नै नजिकका मान्छेलाई जिम्मेवारी दिन चाहन्छन् । आफ्नो जिहजुरी गर्नेलाई ठाकुर जिल्ला, प्रदेशको जिम्मेवारी दिन्छन्, राजेन्द्र महतोले आफ्नो जिहजुरी गर्नेलाई रोज्छन्, भण्डारीले आफ्नो । यसरी पार्टीका लागि दिन रात खट्ने नेता तथा कार्यकर्ताको कुनै मुल्यांकन नै हुँदैन । त्यसकारण पार्टीप्रति आमकार्यकर्ताको निरशा बढेर अन्य पार्टीतर्फ लाग्छन् ।’ अर्को कारण पार्टी अध्यक्ष ठाकुर नेतृत्व गर्न सक्षम हुँदा पनि पनि केही सीमित व्यक्तिहरूको घेराबन्दीमा परेर समयअनुसार पार्टीलाई गतिशिल बनाउन नसक्दा लोसपाको यस्तो हविगत भएको अलीको तर्क छ । यता, पार्टी अध्यक्ष महन्थ ठाकुरका निकट मानिएका लोसपाका मधेश प्रदेश अध्यक्ष तथा प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल विभिन्न कारणले पछिल्लो समय पार्टीको गतिविधि कम भएको स्वीकार गर्छन् । ‘पार्टीको केन्द्रमै कुनै गतिविधि नभएपछि प्रदेश र जिल्लामा हुने कुरा भएन,’ सोनल भन्छन्, ‘पार्टी अध्यक्षको स्वास्थ्यलगायतका कारणले पार्टीले संगठन विस्तार, कार्याकर्ता प्रशिक्षण लगायतका काम अगाडि बढाउन सकेन । तर अब पार्टी त्यसतर्फ सक्रिय रुपमा अगाडि बढ्छ ।’
पार्टी नेतृत्वको विषयमा सोनल भन्छन्, ‘जीवनको उत्तराद्र्धमा पनि उहाँ ऊर्जाशील हुनुहुन्छ, उहाँमा ऊर्जाको कुनै कमी छैन । रह्यो कुरा नेतृत्व परिवर्तनको त त्यो पार्टीभित्रको आपसी सम्झदारीको विषयमा हो । मेरो स्तरबाट बोल्नु आवश्यक छैन ।’
लोसपाको ग्राफ घट्दै गए पनि केन्द्र र प्रदेशमा पनि सत्तामा रहेको पार्टी हो । केन्द्रमा वरिष्ठ नेता शरत सिंह भण्डारीको नेतृत्वमा र मधेश प्रदेशमा रमेश प्रसाद कुर्मीको नेतृत्वमा सरकारमा गएको छ ।
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक चन्द्रकिशोर लोसपा मात्र होइन मधेश केन्द्रित सबै दलहरूले सत्ताको स्वार्थमा आफ्नो मुख्य एजेण्डा नै छोड्दै गएपछि कमजोर अवस्था पुगेको बताउँछन् । खास लोसपा यो मामिलामा निकै अगाडि रहेको उनी बताउँछन् । ‘जुन धार, जुन लाइन लिएर महन्थ ठाकुर कांग्रेस त्याग गरी मधेश केन्द्रित राजनीतिमा सक्रिय भएका थिए, त्यो धारा नै यतिबेला संकटमा छ, त्यो धार महन्थ ठाकुरसँगै बागमतीमा विर्सजन त हुने होइन भन्ने आशंका छ,‘ उनी भन्छन्, ‘कारण, पार्टी नेतृत्वमा मुद्दालाई रिफाइन्ड गर्ने, आफ्नो मुद्दामा जनतालाई कन्भिन्स गर्ने, समय सापेक्ष रणनीति बनाउने, कार्य नीति बनाएर अगाडि बढ्ने, संगठन विस्तारदेखि कार्यकर्तालाई समय सापेक्ष प्रशिक्षण दिने लगायतका कार्यहरू नेतृत्वबाट हुन सकेन ।’
‘लोसपाको नेतृत्वले कहाँबाट चलेको थियो र कहाँ पुग्नछ, त्यो बिर्सेको छ,’ उनी अगाडि भन्छन्, ‘लोसपा मात्रै होइन, नेकपा एमालेबाहेक कुनै पनि पार्टीले संगठन विस्तार र संगठन सुदृढीकरणमा ध्यान दिएको छैनन् । कार्यकर्तामा निरशा बढिरहेको छ । तर त्यसलाई सम्बोधन गर्न नेतृत्व पंक्ति अगाडि आउँदैन । यी सबै पार्टीलाई कमजोर गर्ने कारणहरू हुन् ।’
चन्द्रकिशोरको भनाइसँगै सहमति राख्दै अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन्, ‘संसदीय राजनीतिमा जुन चेहरा बढी देखिन्छन्, जुन सुनिन्छन्, जुन बढी गतिशिल हुन्छ, त्यसप्रति आमजनताको आकर्षण बढी हुन्छ । तर पछिल्लो समय लोसपा नेतृत्वको राष्ट्रिय राजनीतिमा कुनै भूमिका नै देखिएको छैन । नेताहरू मौन भएर बसेका छन्, पार्टी कुनै गतिबिधि छैन, कार्यकर्ताहरूमा निरशा छाएको छ । त्यसको परिणाम पछिल्लो सयम लोसपा त्याग गरी अन्य पार्टीलाई रोज्नु हो ।’ - शिलापत्र