
काठमाडौं-मधेशकेन्द्रित आठ प्रमुख राजनीतिक दलहरूले एकजुट भएर मोर्चा बनाउन आठ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
सोमबार राजधानीमा बसेको बैठकमा दलका नेताहरूले बिहीबारसम्म कार्यदलका सदस्यहरूको नाम टुंग्याउने सहमति गरेका हुन् ।
यो कार्यदलले मोर्चाको अवधारणा, एजेन्डा र मोडलको खाका तयार गर्ने जिम्मा पाएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाका अनुसार बिहीबार सबै दलका अध्यक्षहरूबीच बैठक बसेर यो विषयमा छलफल हुनेछ ।
बैठकमा जसपाबाट रेनु यादव, जसपा नेपालबाट मनिष सुमन, जनमत पार्टीबाट अब्दुल खान, लोसपाबाट सवेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा र सन्तोष मेहता, जनता प्रगतिशील पार्टीबाट हृदयश त्रिपाठी र डा. शिवजी यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द्र लाल सहभागी थिए ।