
ढल्केवर- ई.मनिष कुमार महतोको नेतृत्वमा आज मंगलबार धनुषा जिल्ला हक्की संघ गठन गरिएको छ।
धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको सभाहलमा धनुषा जिल्ला हक्की संघका लागि ९ सदस्यीय समिति चयन गरिएको छ। उपाध्यक्षमा दिनेश कुमार सिंह, सचिवमा दिवेश कुमार महतो, कोषाध्यक्षमा सोनम ठाकुर, सदस्यहरुमा रुपेश कुमार साह,संतोष थापा,अजय कुमार महतो,सेफाली गिरी सिंह, दिपेश कुमार सिंह रहेको छ भने सल्लाहकार मा बिहारी महतो चयन भएका छन्।
मिथिला नगरपालिका वार्ड नं -२ का वाडा अध्यक्ष बिहारी महतो, नेपाल हक्की संघका प्रतिनिधि रामेश्वर प्रसाद घिमिरे, हिमालय युवा क्लब का पुर्वअध्यक्ष अरुण कुमार महतो,
हिमालय युवा क्लबका अध्यक्ष शिवराम महतो, मधेस प्रदेश हक्की प्रशिक्षक रविन्द्र सिंह, प्रशिक्षक श्याम बाबु नायक, मिथिला युवा सञ्जाल ढल्केबरका पदाधिकारीहरु लगायत युवा हक्की खेलाडीहरुको रोहबरमा उक्त समिति चयन गरिएको कुरा नेपाल हक्की संघका प्रतिनिधि बाबुराम नेपालले बताउनुभयो।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका र मिथिला नगरपालिका मा पुरुष र महिला हक्की खेलाडीहरु भएकोले यी दुबै ठाउँका व्यक्तिहरुलाई जोडेर हक्की खेलाडीहरुको हकहित, संरक्षण र खेल अभ्यासमा निरन्तरता का लागि धनुषा जिल्ला हक्की संघ गठन गर्नुपर्ने अवस्था आएको कुरा नेपालले बताउनुभयो।
धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजको खेलमैदान मा जिल्ला,प्रदेश र राष्ट्रिय स्तरको खेल भईसकेको छ भने नक्टाझिज कै खेलमैदान मा हालै सम्पन्न भएको पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता मा मधेसका खेलाडीहरुले उत्साहजनक प्रस्तुति देखाएका थिए। जसमा नेपाली आर्मी प्रथम, लुम्बिनी प्रदेश दोस्रो र मधेस प्रदेश तेस्रो स्थान ल्याएका थिए।