महोत्तरी – शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गरेको आन्दोलनले मंगलबार दिनभर महोत्तरीको सोनमा गाउँपालिका तनावग्रस्त बन्यो ।
श्री सरस्वती जनता मा.वि सोनमा -२ का केहि शिक्षकहरुको गाउँपालिकाले सरुवा गरेको भन्दै विद्यार्थीहरुले विरोधमा आन्दोलनमा उत्रेका हुन् ।




गाउँपालिकाले उक्त विद्यालयका तेज नारायण मण्डल, शत्रुधन यादव र सिकिन्दर शिक्षकहरुलाई सरुवा गरेर अन्यत्र पठाउन खोजेको बताइएको छ। ती शिक्षकहरु समेत विद्यालयबाट सरुवा भई नजाने पक्षमा रहेको बुझिएको छ।

उक्त विद्यालयमा अध्ययनरत कक्षा ८ एक विद्यार्थी अहमद राजाले शिक्षक सरुवाको सन्दर्भमा शिक्षकहरुले नै गाउँपालिका बुझ्न भनेर जानु भनेको हुँदा आफूहरुले गाउँपालिका अध्यक्ष संग भेटेर कुरा गर्न भनि जादा एकजना विद्यार्थीलाई कुटपिट गरिएपछि अवस्था विग्रिएको बताए ।

विद्यार्थीहरुले गाउँपालिका विरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरेको हुन् । उनिहरले शिक्षक सरुवा हुनु भएन , राम्रो पढाइ दे , खानेपानीको व्यवस्था गर , शौचालयको सरसफाई गर जस्ता नाराबाजी गर्दै दर्जनौ विद्यार्थीहरुको समूहले गाउँपालिका अध्यक्ष विरुद्ध चर्को प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले उग्र प्रदर्शन गर्दै ढुंगामुढा गरेपछि गाउँपालिका कार्यालय भवन, गाउँपालिका अध्यक्ष चढ्ने गाडी , खैरबन्नी सशस्त्र प्रहरीको गाडीमा तोडफोड भएको छ उनिहरुले प्रदर्शनको क्रममा २ वटा निजि प्लेटको मोटरसाइकलमा समेत आगजनी गरेर जलाएर नष्ट पारेका छन् ।

उग्र प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गर्नुको साथै लाठी चार्ज समेत गर्नुपरेको थियो । सो क्रममा विद्यार्थीहरु संगै स्थानीयहरुले समेत ढुंगामुढा प्रहार गरेका थिए ।
प्रहरी र प्रदर्शनकारी बीच भएको झडपमा परि ४ जना विद्यार्थी र ६ जना प्रहरी गरी १० जना घाइते भएका छन् । सशस्त्र प्रहरीका जवान प्रकाशको टाउको फुटेको छ भने जनपद प्रहरीका फुलगेन मण्डल , सशस्त्र प्रहरी सौजल सहित ६ जना प्रहरी घाइते भएका छन् ।
यस क्रममा प्रहरीले ४ जना गैर विद्यार्थी र २ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
यस समबन्धमा पालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले शिक्षक सरुवाको कुरा मात्र चलेको अहिले सरुवा नै नगरिरएको बताउँदै उनले भने, “हामीले शिक्षक सरुवाको कुरा चर्चा मात्र चलाएका थियौं । त्यस बारे विद्यार्थीहरुले थाहा पाएर पालिकामा कुरा राख्न आउँदा केहि विपक्षीहरुले घुसपैठ गरेर आन्दोलन चर्काएको हो ।” उनले घुसपैठ गनेहरुकको पहिचान भइसकेको र उनीहरुमाथि हामी मुद्दा चलाउने बताए ।

घटनाको सन्दर्भमा पुर्व गाउँपालिका अध्यक्ष राजकुमार यादवले वर्तमान गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले आफ्नो मनपरि ढंगले शिक्षक सरुवा गरेको आरोप लगाए । उनले अलि नाम चलेका राम्रा राम्रा शिक्षकहरु आफ्नो गाउँटोल तिर लगेपछि विवाद सृजना भएको बताए । उनले आन्दोलनमा प्रहरीको प्रयोग गरि साना विद्यार्थीलहरु माथि कुटपिट गरिएको प्रति आपती जनाउँदै घटनाको भत्सर्ना गर्नुको साथै दोषीमाथि कडा कारवाहीको माग समेत गरेका छन् ।
अहिले स्थिती सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् । घाइतेहरुको उपचार जानकी एकेडेमी पर्सादेवाडमा भईरहेको छ।




