
-चन्द्रकिशोर
मधेश प्रदेशमा गतिलो बाटो सकिएर जब कच्ची बाटो सुरु हुन थाल्छ तब बुझ्नुपर्ने हुन्छ— कुनै दलित बस्ती नजिकिँदै छ । आज पनि बहुसंख्यक दलित बस्तीहरू राम्रा सडकको सम्पर्कबाट वञ्चित छन् । धनुषा जिल्लाको एउटा गाउँ हो— झिंझा । अहिले यो विदेह नगरपालिकाको चौहद्दीभित्र पर्छ ।
बसगजा र कटार नदीको बाढीबाट आप्लावित भैरहने यो गाउँको विशेष चिनारी छ । यस्तो चिनारी जसले पुस्तौंदेखि पछ्याइरहेको छ । स्थानीय बासिन्दाहरू त्यो चिनारीलाई लुकाउँदैनन् । उनीहरू आफूलाई लुकाउन चाहँदैनन् । उनीहरूले विरासतमा जे पाएका छन्, नवागन्तुकलाई त्यही सुनाउँछन् । उनीहरूसँग गफिँदै गर्दा मैले भगवत रावतको काव्यपंक्ति सम्झिरहेको थिएँ— ‘मुझे एक भाषा चाहिए / जो उसकी आँख को आँख कह सके / और जिसका अर्थ / सिर्फ आँख हो ।’
खुला समाजमा निरन्तर सार्वजनिक परीक्षण भैरहन्छ । तर राज्यकोष लुटका अनेक काण्डले निरन्तरता पाइराखेको यो समय कसैले पनि धक फुकाएर यो स्विकार्दैन, ‘मेरा आफन्त लुटेरा थिए वा छन् ।’ झिंझाको एउटा समुदाय भने सगर्व सुनाउने गर्छ, ‘हाम्रा पुर्खा डाकु थिए ।’ उनीहरूको मूल पेसा नै डकैती थियो । उसो त यस्तै कर्म गरेर बाँच्ने छेउछाउका अकौडा, नरहियाजस्ता गाउँहरू पनि छन्, तर झिंझा पूर्वडाकाहरूको गाउँको प्रतीकजस्तो बन्यो । सन् १९७२ मा भारतको चम्बल घाटीका डाकुहरूलाई आत्मसमर्पण गराइँदा लोकनायक जयप्रकाश नारायणले भनेका थिए, ‘हामी यी डाकाहरूलाई हिरो बनाउन चाहँदैनौं । हामीले त यिनीहरूलाई केवल नागरिक बनाउन खोजेका छौं ।’ व्यवस्थाहरू परिवर्तन भइरहे तर झिंझावासीलाई कसैले पनि उनीहरूकै आँखाबाट हेर्न चाहेन । आज पनि उनीहरू आधारभूत नागरिक सुविधाबाट वञ्चित छन् । जसको कोही छैन, त्यसका लागि सरकार हुनुपर्नेमा लोकदेवता सलहेशका यी भक्तहरू अझैसम्म सलहेशलाई नै गुहार्नुपर्ने अवस्थामा बाँचिरहेका छन् । भविष्य फेरिने कुनै संकेत जनकपुरको सत्ताले दिएको छैन । समय फेरिएको पक्का हो, शासकीय मनोवृत्तिमा भने खासै बदलाव आएको छैन ।
डाकाबहुल गाउँको परिचयमा अभ्यस्त झिंझावासीसँग सुनाउनपर्ने अर्को के नै छ र ? भोट माग्न आउनेहरू केही गुलिया वाचा गर्छन् । चुनाव सकिएलगत्तै बेपत्ता हुन्छन् । रिपोर्टिङका लागि पुग्ने सञ्चारकर्मीहरू यहाँका पूर्वडाकाहरूको खोजी गर्छन्, तिनको स्वीकारोक्ति सुन्छन् । आफ्ना मिडियाका लागि तस्बिर एवं सामाजिक सञ्जालका लागि तिनै डाका कहलिएकाहरूसँग सेल्फी खिचेर बिदाबारी हुन्छन् । वर्षौंदेखि यस्तै चल्दै आइरहेको छ । निकट अतीतसम्म पनि त्यहाँका वरपीपलमा गोहीको आँसु कति बग्यो–बग्यो ! थानेदारहरू आजपर्यन्त त्यहाँ तुजुक देखाउन पुग्ने गर्छन् । सत्ताले जहिले पनि बहिष्कृत समुदायहरूलाई ठाउँमा राख्न तिनैमध्येको महत्त्वाकांक्षी व्यक्तिलाई प्रयोग गर्छ । भनिन्छ, जसले इतिहासको व्याख्यालाई आफ्नो स्वार्थअनुकूल स्थापित गर्न सक्छ, बर्तमानलाई निर्देशित र नियन्त्रण गर्ने अधिकार पनि उसैले पाउँछ । विगतमा पञ्चायती शासनका हर्ताकर्ताहरूले यी डाका कहलिएकाहरूको प्रयोग प्रजातन्त्रवादी सेनानीहरूलाई तह लगाउन गरे । अहिले सुन तस्करी गराएर आफ्नो राजनीति सपार्न उद्यत वर्गजस्तै तत्कालीन समयमा चतुर प्रशासकहरूले सीमान्त गाउँका यी बासिन्दाहरूलाई एउटा ‘लुट उद्योग’ का अभिकर्ता बनाए । स्थानीय जमिनदारहरूले यिनकै पाखुराका भरमा विपक्षीलाई कज्याए । पञ्चायत ढल्यो, तर झिंझावासीलाई प्रयोग गर्ने नुस्खा बदलिएन ।
प्रसिद्ध अहिंसावादी विनोवा भावे चम्बल घाटीका डाकुहरूलाई ‘डाकु’ को साटो ‘बागी’ भन्न मुनासिब ठान्थे । त्यहाँको एउटा प्रार्थनासभामा उनले भनेका थिए, ‘मान्छेहरू भन्छन्— यहाँ चोरी–डकैतीको समस्या छ । यो समस्याको मुख्य कारण हो— गरिबी, व्यक्तिगत दुश्मनी र प्रहरी । यो समस्याको चौथो कारण हो— दलगत राजनीति र चुनाव । यदि यी समस्यालाई दूर गर्न सकियो भने डाकुहरूको समस्या सोझै हल भैहाल्छ ।’ प्रेम र करुणाका साथ झिंझावासीसँग गफ गरियो भने तिनीहरूका समस्याको जडमा पनि यिनै कुरा भेटिन्छन् । समस्याको जरो निकै गहिरो छ । यो समुदायको जुझारुपनको इतिहास गाउँको भौगोलिक अवस्थिति, वरिपरिको जातीय शक्ति संरचना र राज्यतन्त्रको मानस एवं राजनीतिको चरित्रमा लुकेको छ । समस्याको जरो उखेल्ने चेष्टा नगरी झिंझावासीको स्थायित्व, गतिशीलता एवं उन्नति सम्भव हुन्न । यिनीहरूको अपरिपक्व व्यवस्थापनले त समाजलाई नै असफलतातिर उन्मुख गराउन सक्छ ।
झिंझावासीका संघर्षका कथाहरूलाई सामान्यीकरण गर्न गाह्रो छ । ‘पलायन वा पुनर्वापसी’ वर्तमानप्रति असन्तुष्ट झिंझावासीहरूको फरक खालको अभिव्यक्ति हो । यही असन्तुष्टिका कारण चुप लागेका झिंझावासीलाई निष्क्रिय भएको ठान्नु बहुतहका सरकारको भ्रम हो । दशगजानजिकको मधेशको यो गाउँमा आज पनि वर्षाका बेला कोही बिरामी भए खाटमा बोकेर उपचारका लागि बाहिर लैजानुपर्ने बाध्यता छ । जग्गाधनी पुर्जा छैन । सबैका घरमा चर्पी छैनन् । पालिकाकै अन्य स्कुलभन्दा यो गाउँको स्कुल बेहाल छ । छुवाछुत निमिट्यान भएको छैन । प्रसूति प्रायः घरमै हुन्छ । युवाहरू काम गर्न चाहन्छन् तर काम छैन । बाह्रै महिना खेतमा कमाउन सकिँदैन । ज्यालादर न्यून छ । ऋण दिनेहरू यतिखेर हच्किएका छन् अनि बिनापैसा बाहिरिने कसरी ? बेलाबखत बाढी दुःख दिन आइपुग्छ नै । पूजागृह ठडिएको छ, यता सामुदायिक भवनमा आहाल जमेको छ । गाई–भैंसीको दूध बेच्न पनि टाढा जानुपर्छ । पारिपट्टिका आफन्तहरूको जीवनस्तर तुलनात्मक रूपमा बढिया छ ।
‘झिंझावासी’ शब्द सुन्दैमा एक थरीले नाक खुम्च्याउँछन् । पहिलापहिला पनि झिंझा पुगेकाहरूलाई लाग्ला, यो त विगतको जस्तो दुर्गम छैन, तर जे सामुन्ने छ, त्यो अपुग र अधकल्चो छ । प्रहरी–प्रशासनको वक्रदृष्टि कायमै छ । उनीहरू बिरालोलाई बिरालो साबित गर्न उद्यतझैं छन् । औसत व्यक्तिको दैनिकी कठिनाइपूर्ण छ । यस्तोमा उनीहरू फेरि पुरानै पेसामा फर्किनु ? शान्तिपूर्ण जीवन जिउने एउटा सामूहिक सपनाको चिहान खन्न मानौं राज्य स्वयं अग्रसर छ । कसरी बचाउने झिंझावासीलाई ? लोकतन्त्रले अर्थ हराउँदै गएको सन्दर्भमा कतै पिटर मायरले लेखेका थिए, ‘जनता अर्ध–सार्वभौम छन् भन्ने मान्यता पनि स्खलित हुँदै गैरहेको छ । लोकतन्त्रमा लोक नै हराएको छ ।’
झिंझावासी–मुक्तिको मुद्दा आमूल राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणसँग जोडिएको छ । बहुतहका सरकार आएपछि राजनीतिक रूपान्तरण केही हदसम्म भएको मान्ने हो भने चुनावका बेला यहाँको भोट खोजिन्छ । जित्नेले फेरि यिनीहरूलाई अछुत ठान्छ । कारणमा भन्ने गरिन्छ, ‘तिमीहरूले मलाई त भोट नै हालेनौ !’ ‘घरछेउकै सरकारलाई किन दबाब दिँदैनौ ?’ भन्ने पंक्तिकारको प्रश्नमा जवाफ सुनिन्छ, ‘चोर उचक्के डाकुओं को तुम कहते हो सरकार कहूँ ?’
हाम्रो समाजमा डाकु र बागीहरूका अनेक कथा सुनिन्छन् । तिनीहरूका हृदय परिवर्तन भएका किंवदन्तीहरू पनि प्रशस्त सुनिन्छन् । वाल्मीकिदेखि अंगुलिमालसम्मका कथा सहजै स्मृतिमा आउँछन् । सन् १९७० को दशकमा भारतमा विनोवा–जयप्रकाशहरूले सामूहिक विवेकको प्रयोग गरी सयकडौं डाकुलाई सहज जीवनमा फर्काएका थिए ।
आधुनिक समयको यो चमत्कृत तुल्याउने पाठ हो । यता विक्रम संवत्को २०४० को दशकमा पञ्चायती शासकले झिंझावासीहरूलाई ‘बक्सिस’ का रूपमा सर्लाहीमा पुनर्वास गराए । झिंझाबाट केही घरपरिवार आएर बसेको बस्ती हाल लालबन्दी नगरपालिकामा छ । झिंझामै रहिरहेका र त्यहाँबाट बसाइँ सरेकाहरूको जीवनस्तर तुलनात्मक रूपमा फरक छ । नयाँ ठाउँमा पुगेकाहरू अलि उक्सिएका छन् । कारण बताउनेहरू भन्छन्, ‘झिंझाको अवस्थिति सघन मधेशी बसोबास रहेको क्षेत्र हो जहाँ थिचोमिचो बढी छ । यता सर्लाही पुगेकाहरूले छरछिमेकमा पहाडे समुदायलाई पाए र उनीहरूबाट स्वीकार्यता पाए ।’ उसो त यसको समाजशास्त्रीय अध्ययन नै गर्नुपर्छ ।
सर्लाहीमा गरिएको प्रयोग हृदय परिवर्तनको उपक्रम थिएन । झिंझावासीलाई डकैती छाड्नुपर्छ भनी अभिप्रेरित गर्न पनि कोही आएन । बरु, उल्टै आफ्नो स्वार्थका लागि उनीहरूलाई लठैत बनाउन चाहनेहरू देखिए । समयको झन्झाबातले झिंझावासीहरू धेरै कुरा सिकाइसकेको छ, उनीहरूले आफूलाई सही गोरेटामा हिँडाउन चाहेका छन् । यो उनीहरूको स्वयंको छनोट हो । प्रत्येक पूर्वडाकाको कथा फरक छ तर शान्तिपूर्ण जीवन जिउने चेत सामूहिक हो । यस्तोमा तिनै पुराना कथाहरू सुनाउन एक प्रकारको झिंजो मान्छन् उनीहरू । उनीहरू पाखुरा चलाएर आफ्ना पुर्खाको कथालाई विस्मृतिमा धकेल्न चाहन्छन् । अब अतीतसँग सम्बन्धविच्छेदको कृतसंकल्प समाजका लागि अन्तिम मौका पनि हो । तसर्थ झिंझाको सवाललाई मानव अधिकारको कोणबाट समेत हेर्नुपर्छ । झ्याउँकिरीले प्रहरको जनाउ दिएजस्तै झिंझाले सत्तापतिहरूलाई भविष्यको रूपरेखा कोर्न सूचना दिँदै छ । अहिलेसम्म उपेक्षा गरेर बसेको सत्ताले अब त झिंझाको बोली सुन्ला कि ?-कान्तिपुरबाट