
महोत्तरी,(औरही)- औरही बजारमा जथाभावी पार्किङले बजार अस्तव्यस्त बनेको छ । बढ्दो सहरीकरणसँगै बढ्दो सवारी साधन, साँघुरा सडक अनि सडकमा गुड्ने ठूला सवारीहरूका लागि बजारमा कुनै पार्किङस्थल नहुँदा जथाभावी र अव्यवस्थित पार्किङ हुने गरेका छन् ।
अव्यवस्थित पार्किङले बजारका सडकहरू झनै साँघुरो र अस्तव्यस्त बनाएको त छ नै, व्यवसायीहरूले पनि उत्तिकै सास्ती खेप्नु पर्ने बाध्यता रहेको छ । यसले बजार क्षेत्र कुरूप देखिएको छ भने व्यापार, व्यवसायमा पनि घाटा भएको व्यवसायी बताउँछन् ।
‘पसल अगाडि थुप्रै टेम्पु,म्याजिक,टिफर,मोटरसाइकल देखि जथाभावी सवारी पार्किङ गर्छन्,’ औरही बजारमा रहेको जनक नन्दनी दुध डेरीका संचालक नागेन्द्र कुशवाहा भन्छन्– ‘सवारीको भिडले ग्राहक आउनेसम्म बाटो हुँदैन । पार्किङ नगर्नुस् भनेर बारम्बार भन्छौँ तर थोरैले मान्छन् धेरैैले मान्दैनन् ।’
पसल अगाडि जथाभावी सवारीहरू पार्किङ गर्दा पसलका लागि आवश्यक साम्रगी आयात निर्यात गर्ने कठिनाइ हुने उनले बताए । त्यसबाहेक ग्राहक आउने बाटो नै नराख्ने सवारीहरू तेर्साउँदा व्यवसायमा समेत असर पुग्ने उनको भनाइ छ।
लिला आयरण स्टोरका संचालक बिनय यादव पनि गुनासो यस्तै छ । पसल अगाडि जथाभावी सवारी पार्किङ गर्छन्’ उनले भने–‘दैनिकीमात्र यस हार्डवेयरमा रड,सिमेन्ट लगाएत अन्य वस्तुहरु किन्न आउने ग्राहकहरूलाई पसलसम्म आइपुग्ने बाटो हुँदैन।’

पार्किङको समस्या अहिले मात्रै नभएर वर्षौदेखि रहेको उनले बताए । त्यसरी ग्राहक आउनेसम्म बाटै नहुने भएपछि ग्राहाकहरू सामान किन्न अन्यत्र समेत जाने गरेको उनले गुनासो गरे । बढ्दो सवारी चापसँगै अव्यवस्थित पार्किङका कारण औरही बजार अस्तव्यस्त बनिरहेको हो ।

मुल सडक नै साँघुरो बनाएर बाटोमै गाडी–बाइक पार्किङ गर्नुपर्ने अवस्था छ । अझ त्यति गर्दा पनि पार्किङको समस्या ज्यूँका त्यूँ देखिन्छ । बढ्दो सवारी साधनसँगै पार्किङ व्यवस्थापन गर्ने नसक्दा व्यापारीमात्रै नभएर ग्राहकहरूलाई समेत आवश्यक खरिद गर्ने पसलसम्म पुग्न समस्या हुने गरेकोे छ ।
‘मोटरसाइकल र ठूला गाडी पसल आगाडि हुन्छ’ किनमेलका लागि आएकी घनश्याम यादवले भने – ‘कहिले त पसलसम्म पुग्ने बाटो नै हुँदैन । त्यसैले अन्यत्र भिड नभएको पसलमा जाने गर्छु ।’ जथाभावी पार्किङको समस्या अन्य ठाउँभन्दा विषेश त बजार क्षेत्रमा व्यापार, व्यवसाय गर्ने व्यवसायी, ग्राहक र सर्वसाधारणले बढी समस्या खेप्नुपर्ने बाध्यता छ ।
‘व्यवस्थित पार्किङ गर्ने ठाउँ सबै स्थानमा छैन’ मोटरसाइकल चालक रामबाबु साहले भने, ‘भएका ठाउँ सबै उपयुक्त छैनन्’ नगरपालिकाले सवारी पार्किङ व्यवस्थापन गर्न नसक्दा समस्या भएको उनी बताउँछन् । पहिले पार्किङ व्यवस्थित गरेर जरिवाना गरे राम्रो हुने उनको भनाइ छ ।
नगरपालिकाले प्रहरी परिचालन गरेर फुटपाथ एवं जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गरेको छैन । चालक नभेटिए सडकबाटै उठाउने र भेटिएमा चिट काटेर जरिवाना स्वरूप पाँच सय, हजार बुझाउनेबाहेक नगरपालिकाले फुटपाथ पार्किङ नियन्त्रणमा कुनै ठोस अभियान चालेको छैन ।

स्थानीय सरकारले बजारमा जथाभावी सवारी पार्किङको समस्या समाधानको लागि दिर्घकालिन योजना बनाउँन नसक्नु चुनौतीको विषय बनेको स्थानीयहरुले बताए । ‘औरही नगरपालिकालाई पार्किङको लागि छुट्टै क्षेत्रको व्यवस्थापन गर्न आग्रह गरिरहेका छौं’, उनले भने, ‘तर बजारमा बजार नजिकै पार्किङका लागि छुट्याउने पर्याप्त स्थान नभएको बताउँदै समस्या समाधानमा चासो दिएको जस्तो लाग्दैन ।
यो औरही बजार मात्र हैन समग्र जिल्लाको पुरानै समस्या हो, हामीले लागेर मात्र नगरको ट्राफिक व्यवस्थापन हुने होइन स्थानिय सरकारले पनि भूमिका निभाउनु प¥यो ।’
नगरको ट्राफिक व्यवस्थापन फितलो हुँदा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । अटो र मोटरसाइकल त दैनिकजस्तो दुर्घटना भइरहेको प्रहरीको भनाइ छ । औरही नगरका नगरप्रमुख प्रदिप कुमार खड्काले ट्राफिक व्यवस्थापन लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । औरहीको प्रमुख समस्या व्यवस्थित पार्किङ भएको हुँदा अब छिटै सार्वजनिक सूचना निकालेर निजी क्षेत्रलाई आह्वान गर्ने बताए ।

‘बजार क्षेत्रमा यो पार्किङको समस्या पहिलैदेखि कै हो । यस विषयमा हामी निकै चिन्तित छौं’, उनले भने, स्थानीय सरकारको एकल प्रयासले मात्र यो समस्या समाधान हुँदैन् । यो एउटा व्यवसाय जस्तै भएकाले पनि निजी क्षेत्रसँगको सहकार्यविना यो सम्भव छैन् ।
सहरी क्षेत्रभित्र निजी क्षेत्र, खाली जग्गा, ऐलानी, सिचाइँ बन्द भएका कुलोहरू वा फराकिलो सडकका किनारहरू खोजी गरी साना सवारी साधनको पार्किङ व्यवस्था गर्ने उनको भनाइ छ । ‘हाम्रो नजरमा औरही बजार चौक आसपासका खाली ठाउँमा पार्किङ व्यवस्थापन गर्न सकिन्छ भन्ने लागेको छ’ उनले विगतदेखि नै उचित समाधानको प्रयास गरिरहेका भएपनि सफल नभएको स्विकारे । यसवर्ष भित्रमा यो समस्या दीर्घकालिन रूपमा समाधान गर्ने उनको प्रतिवद्धता छ ।