
काठमाडौं- नागरिकता ऐन संशोधन भएको तीन महिनापछि मन्त्रिपरिषद्ले नागरिकता नियमावली पारित गरेको छ ।
नियमावली आएसँगै अब बुबाको ठेगान नभएका व्यक्तिले आमाको नाउँबाट नागरिकता पाउन सक्नेछन् भने गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्र पाउने बाटो खुलेको छ ।
बुबाको पत्ता लाग्न नसकेका व्यक्तिले नयाँ ऐनअनुसारको नागरिकता नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउन सकेका थिएनन् । त्यसैगरी गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्रका लागि निवेदनसमेत दिन पाएका थिएनन् । जेठ १७ गते संशोधित नागरिकता ऐन जारी भएको सय दिनपछि नियमावली पारित भएको हो ।
नागरिकता ऐन संशोधन भएपछि जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानले भने नागरिकता पाइरहेका छन् । पारित भएको नियमावली राजपत्रमा प्रकाशित भएपछि बाबुको पहिचान खुल्न नसकेको व्यक्ति र गैरआवासीय नेपालीले नागरिकता प्रमाणपत्रका लागि निवेदन दिन सक्नेछन् ।
संशोधित नागरिकता ऐनमा नेपालको नागरिक आमाबाट जन्मेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता पाउने प्रावधान छ । तर यसरी नागरिकता पाउनका लागि नागरिकता लिन चाहने व्यक्ति र उनकी आमाले बुबाको पहिचान नखुलेको स्वघोषणा गर्नुपर्नेछ ।
आमाको मृत्यु भइसकेको वा होसमा नरहेको अवस्थामा समेत नागरिकता लिने व्यक्तिले स्वघोषणा गर्नुपर्नेछ । नियमावलीमा स्वघोषणाको ढाँचा उल्लेख छ ।
त्यस्तै गैरआवासीय नेपालीले पनि नेपालको संविधान र कानुनको पालना गर्ने स्वघोषणाको प्रतिवद्धतापत्र पेस गर्नुपर्नेछ । सो प्रतिबद्धताको ढाँचा पनि नियमावलीमा छ ।
विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क बाहेकका देशमा बसोबास गरेका व्यक्तिले गैरआवासीय नागरिकता पाउनेछन् । त्यस्ता व्यक्तिले साविकमा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्नेछ । गैरआवासीय नेपाली नागरिकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिइनेछ । त्यस्ता व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गर्नुपर्नेछ ।