
जनकपुरधाम- मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले प्रदेश भरिका स्वास्थ्य संस्था दर्ता, नविकरण तथा नियमनको लागि निर्देशन दिएका छन् ।
सोमवार बसेको मन्त्रालयका स्वास्थ्य महाशाखाको बैठकमा मन्त्री सिंहले प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट ईजाजतपत्र लिनुपर्ने र नवीकरण गराउनु पर्ने संस्थाहरुले सो अनुसार अबिलम्ब गर्न गराउनको लागि निर्देशन दिएका हुन् ।

सम्बन्धीत संस्थाहरुले १५ दिन भित्र दर्ता , नविकरण गरिसक्नु पर्ने र अटेर गरे अनुगमनको क्रममा फेला परे कारबाही गरिने बताउँदै मन्त्री सिंहले कुनै पनि किसिमको त्यस्ता स्वास्थ्य संस्थामा घटना भए त्यसको जिम्मेवार स्वयं संचालक हुने बताए ।
मन्त्री सिंहले दिएको जानकारी अनुसार प्रदेश सरकार मातहतबाट ईजाजत लिनुपर्ने र नवीकरण गराउनु पर्ने स्वास्थ्य संस्थाहरुमा २५ देखि २०० शैयया सम्मका जनरल तथा विशेषज्ञ अस्पताल, २५ देखि ५० शैयया सम्मका आयुर्वेद अस्पताल, डेन्टल क्लिनिक, विशेषज्ञ क्लिनिक, पोलिक्लिनिक, आँखा उपचार केन्द्र, सी बर्गको प्रयोगशाला, ख श्रेणीको रेडियो इमेजिंग सेन्टर, २५ शैयया सम्मका डायलासिस केन्द्र, २५ शैयया सम्मका पुनस्र्थापना केन्द्र र हस्पिस सेन्टर रहेका छन् ।
यस प्रकारका प्रदेश भित्रका संस्थाहरुको अनुगमन तथा नियमन गर्नको लागि डा. कृष्णदेव दास(केडी दास) को संयोजकत्वमा ७ सदस्यीय स्वास्थ्य संस्था अनुगमन उपसमिति समेत गठन गरिएको छ।

समितिमा डा. जितेन्द्र ठाकुर उपसंयोजक तथा सदस्यहरुमा डा. रजनी सिंह, श्री शिवानी कार्की, सन्तोष यादव, संजुकुमारी यादव र सन्तोष कुमार ठाकुर सदस्य सचिव रहेका छन् ।
समितिले सोमवार देखि आफ्नो काम सुरु गरिसकेको संयोजक डा. केडी दासले जानकारी दिए ।
बैठक मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.इन्द्रजित रजकको अध्यक्षतामा सम्पन्न भएको थियो ।