काठमाडौं – प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरु सबै एक महिना पहिले मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायलस्थित कृषि फार्ममा गएका थिए । हमासले गत शनिबार गरेको हमलामा नेपाली विद्यार्थीहरु पनि हताहती भए ।
यो घटनासँगै हमास विद्रोहीको कब्जामा रहेको गाजा क्षेत्र नजिकै नेपाली विद्यार्थीलाई किन लगियो भन्ने प्रश्न उठेको छ । असुरक्षित क्षेत्रमा नेपाली विद्यार्थीलाई पुर्याइएको र उनीहरुलाई सम्भावित जोखिमबारे पर्याप्त सचेत नगराइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको आलोचना समेत गरेका छन् ।



नेपाल र इजरालयबीच केयर गिभरका रुपमा नेपाली नर्सिङ जनशक्तिलाई लैजाने गरी १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । त्यसकै आधारमा अहिले पनि ४ हजार ५०० ‘केयर गिभर’ त्यहाँ कार्यरत रहेको सरकारले बताएको छ ।
त्यहीबेला विश्वकै अब्बल मानने इजरायली कृषि प्रविधि भित्र्याउने उद्देश्यले इजरायलको प्राविधिक सहयोगमा ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेज’ खोल्ने समझदारी भएको थियो । कम्तीमा ७ वटै प्रदेशमा यस्ता सेन्टर खोल्ने भनिए पनि सरकारले त्यसमा लगानी गरेन । त्यहीकारण इजरायली कृषि प्रविधि सिक्न नेपालीहरु इजरायल नै जानुपर्ने अवस्था रहिरह्यो ।
सरकारी तथ्यांक अनुसार शनिबारको घटना हुनुअघिसम्म २६८ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत थिए ।
सुदूपश्चिम विश्वविद्यालयले पहिलो खेपमा व्यहारेको झड्का
श्रम सम्झौता २०७७ सालमा भए पनि इजरायलले त्यसअघि नै ‘लर्न एन्ड अर्न’ कार्यक्रममा नेपालीहरुलाई लैजाने गरेको थियो । सुरुमा त्रिभुवन विश्वविद्यालयसँग सहमति गरेर कृषि संकायका विद्यार्थीहरुलाई प्रशिक्षार्थी कामदारका रुपमा लैजान थालियो ।
तर विद्यार्थीहरु उतै लुक्न थालेपछि इजरायल सरकारले केही वर्षसम्म साना किसान बैंकमार्फत प्रशिक्षार्थी कामदार लग्यो । कृषि कर्म सिकेर नेपाल फर्किएपछि त्यही प्रविधिलाई अंगालेर खेती किसानी गर्ने अपेक्षा गरिए पनि धेरैले यहाँ आएर पेशा परिवर्तन गरे ।
त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.भार्गव धिताल उद्देश्यअनुसार प्रभावकारी नतिजा नआएपछि साना किसानमार्फत कृषि प्रशिक्षार्थी लैजाने कार्यक्रम रोकिएको हुनसक्ने बताउँछन् । ‘सीप मात्रै नभएर सैद्धान्तिक ज्ञान पनि सिकाउने मनसायले लगेको हो, तर त्यसबेला सम्भव नभएपछि रोकिएको हुनसक्छ,’ उनले अनलाइनखबरसँग भने ।
त्यसपछि फेरि विश्वविद्यालयहरुमार्फत कृषि पढेका विद्यार्थीलाई ‘लर्न एन्ड अर्न’ कार्यक्रममा लैजान थालियो । इजरायलले अरु देशसहित नेपालको लागि पनि निश्चित कोटा छुट्याएको छ । नेपालका कृषि पढेका विद्यार्थीहरु काठमाडौंस्थित इजरायली दूतावासको सहजीकरणमा ११ महिनाका लागि जान पाउँछन् ।
कार्यक्रमका लागि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकाय र सुदूरपश्चिम विश्वविद्यालयका इच्छुक विद्यार्थीबाट सम्बन्धित शैक्षिक संस्थाले आवेदन लिने गरेका छन् । त्यसपछि इजरायली दूतावासको सक्रियतामा इजरायलका सम्बन्धित तालिम केन्द्रको प्रतिनिधि आफैंले विद्यार्थी छनोट गरेर लैजाने गरेका छन् ।
तीन वटै विश्वविद्यालयले सम्झौता गरेको ‘एग्रिकल्चर ट्रेनिङ सेन्टर’हरु फरक–फरक छन् । यस्ता ‘एग्रिकल्चर ट्रेनिङ सेन्टर’हरुले नेपाल लगायत विभिन्न देशबाट लगेका कृषिका विद्यार्थीलाई कृषि फार्महरुमा पठाउने गरेका छन् ।
सम्झौताअनुसार ‘एग्रिकल्चर ट्रेनिङ सेन्टर’हरुले विद्यार्थीलाई हप्ताको एक दिन सैद्धान्तिक पढाइ र पाँच दिन काम दिन्छन् । एक दिन बिदा समेत दिने व्यवस्था छ । ११ महिने समयावधि सकिएपछि विद्यार्थीलाई तालिम पुरा गरेको प्रमाणपत्र दिएर फर्काउने गरिएको छ ।
यो वर्ष कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनका ११९ जना, त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकायका ९७ र सुदूरपश्चिम विश्वविद्यालयको ४९ जना विद्यार्थीले इजरायल जाने अवसर पाएका थिए ।
‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’मा नेपाली विद्यार्थीहरुको ग्राजुयसन सेरेमोनी
‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत सुदूरपश्चिम विश्वविद्यालयले यो वर्ष पहिलो पटक ४९ जना विद्यार्थी पठाएको थियो । विद्यार्थीलाई ‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’मा पठाइएको थियो । यो ट्रेनिङ सेन्टरले दूतावासमार्फत विश्वविद्यालयमा प्रस्ताव पठाएको थियो । भदौ अन्तिममा मात्र विद्यार्थीहरु गएका थिए ।
तर ट्रेनिङ सेन्टरमार्फत एलुमिन फार्ममा काम गरिरहेका १७ जना विद्यार्थी आक्रमणमा परे । उनीहरुमध्ये १० जनाको मृत्यु भयो भने चार जना घाइते भएका छन् । दुई जना सुरक्षित छन् भने एक जना अझै सम्पर्कविहीन छन् ।
कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनसहित त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकायको अनुभवलाई आधार बनाएर ढुक्कका साथ विद्यार्थी इजरायल पठाएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशी बताउँछन् । ‘हामीले पहिलो पटक पठाएका थियौं, पहिलो पटकमै यस्तो दुर्घटना भयो,’ उनी भन्छन्, ‘अहिले कतिपय विद्यार्थी सम्पर्कमा छन्, कतिपयसँग सम्पर्कको प्रयास भइरहेको छ ।’
रामपुर र त्रिविका विद्यार्थी सुरक्षित
कृषि तथा वन विश्वविद्यालय रामपुरले आफ्ना विद्यार्थी अहिलेसम्म सकुशल रहेको जानकारी दिएको छ । गएकाहरुमध्ये केही युद्ध क्षेत्र नजिक परेका थिए । बंकरभित्र रहेका ३४ जनामध्ये ८ जना सुरक्षित स्थानमा सारिँदैछ । अरुलाई पनि सार्ने तयारी भइरहेको जानकारी आएको विश्वविद्यालयले जनाएको छ ।
इजरायलमा गएको विश्वविद्यालयको यो दोस्रो समूह हो । विश्वविद्यालयले १४ जेठ २०७९ (२३ मे २०२२) मा इजरायलको सरकारी तालिम केन्द्र ‘रमाद नेगव इन्टरनेशनल ट्रेनिङ सेन्टर फर एडभान्स एग्रिकल्चर’सँग सम्झौता गरेको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका योजना निर्देशनालयका योजना निर्देशक डा.शिवचन्द्र ढकालका अनुसार स्नातक तहको अन्तिम वर्षको विद्यार्थीलाई पठाउने गरिएको छ । गत वर्ष एक सय जनाको कोटामा धेरै विद्यार्थीको आवेदन परेको र गएका विद्यार्थीहरुबाट सकारात्मक प्रतिकृया आएकाले विश्वविद्यालयले उक्त तालिम केन्द्रलाई कोटा थप गर्न अनुरोध गरेको उनले स्मरण गरे । यसैकारण यो वर्ष १२७ जनाको कोटा पाएको थियो ।
गत वर्ष फ्याकल्टी अफ एग्रिकल्चर, फ्याकल्टी अफ एनिमल साइन्स, भेटेरिनरी साइन्स एन्ड फिसेरी र फ्याकल्टी अफ फोरेस्ट्रीका विद्यार्थी लगेपनि कतिपय विद्यार्थीले पढाइ अनुसारको काम र तालिम नमिलेको गुनासो गरेका थिए । विद्यार्थीको गुनासोपछि विद्यार्थी पठाउने सम्झौता अघि तालिम केन्द्रसँग कुरा गरेको र विद्यार्थी जानु अघि विद्यार्थी कुन ठाउँको कुन कृषि फार्ममा काम गर्ने हो भन्ने जानकारी दिएर लगिएको विश्वविद्यालयको दाबी छ ।
इजरायलमा रहेका कृषि तथा वन विज्ञान विश्वविद्यालयका ११९ जना विद्यार्थीमध्ये ११३ जना विद्यार्थी यसै वर्ष गएका हुन् । गत वर्ष गएका ९३ जनामध्ये ७ जना विद्यार्थी मात्रै फर्किन बाँकी छ । सात जनामध्ये एक जना छात्रा त्यहीँको युवकसँग विवाह दर्ता गरेर बसेको जानकारी विश्वविद्यालयले पाएको छ ।
दुई जना विद्यार्थी ‘टिम लिडर’ को रुपमा सहयोग गर्न बसेको र चारजना भने गैरकानुनी रुपमा इजरालयमै लुकेका छन् । ‘उद्धारका लागि सबैको विस्तृत विवरण टिपाएका छौं, चार जना विद्यार्थीको चाहिँ नाम मात्रै टिपाएका छौं,’ योजना निर्देशक डा.ढकाल भन्छन् । उनीहरु सम्पर्कमा नआएकाले कहाँ छन् भन्ने जानकारी नभएको उनले बताए ।
त्रिविको कृषि तथा पशुविज्ञान संकायले पनि आफ्ना सबै विद्यार्थी सुरक्षित रहेको जनाएको छ । हाल दक्षिण क्षेत्रमा युद्ध चलिरहे पनि त्रिविका विद्यार्थी उत्तरी क्षेत्रमा छन् ।
त्रिविले त्रिविले गत वर्ष ‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’सँग सम्झौता गरेर गत वर्षदेखि नै त्यहाँ विद्यार्थी पठाउन थालेको हो। कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.भार्गव धिताल गत वर्ष १०० सय जनाको माग भएपनि ९५ जना मात्रै गएको बताउँछन् । गत वर्ष गएका विद्यार्थीहरुको प्रतिकृया बुझेर यो वर्ष पनि ‘किन्नरेट कलेज इजरायल’सँग सम्झौता गरेर ९९ जनालाई इजरायलमा पठाइएको प्रा. धितालले जानकारी दिए ।
इजरायलमा रहेका विवश्वविद्यालयका अर्का एक विद्यार्थी भने गत वर्ष नै गएका हुन् । यसअघि नेपालका केही विद्यार्थीहरु नफर्किएपछि संस्थाले कार्यक्रमको नाम नै संशोधन गर्दै ‘लर्न अर्न एन्ड रिटर्न’ बनाएको समेत डिन प्रा.धितालले बताए ।
सुरक्षामा प्रश्न
शनिबारको घटनापछि भने ‘लर्न अर्न एन्ड रिटर्न’ कार्यक्रममा पठाइने नेपाली विद्यार्थीहरुको सुरक्षामा प्रश्न उठेको छ । इजरायलमा गएर फर्किएका नेपालीहरुका अनुसार केयर गिभरहरु इजरायली नागरिकसँगै घरभित्र काम गर्ने भएकाले तुलनात्मक सुरक्षित मानिन्छन् । तर, कृषि फार्ममा सिक्न र कमाउन पुगेकाहरु बाहिर काम गर्नुपर्छ, कतिपय त गाजा क्षेत्रमा छन् ।
इजरायलमा सुरक्षा थ्रेटको सूचना आउनासाथ आफ्ना नागरिकलाई सूचना दिन साइरन बजाउने गरिएको छ । त्यस्तो बेला आफ्नो जनिकको बंकरमा जानुपर्छ । तर सधैं बंकरमा पुग्ने समय हुँदैन ।
शनिबार त इजरायली गुप्तचरलाई समेत माथ दिने गरी हमासले मिसाइल आक्रमण गरेको थियो । त्यसैले आगामी दिनमा लर्न एण्ड अर्न कार्यक्रममा विद्यार्थी पठाउँदा नेपालले सुरक्षा चासोलाई पनि ध्यान दिनुपर्ने देखिएको जानकारहरु बताउँछन् ।-अनलाइनखबर




