
औरही(महोत्तरी)- यस क्षेत्रकै प्रसिद्ध शक्ति पिठको रुपमा रहेको सोनामाईमा प्रत्येक वर्षझैँ यस वर्ष पनि (डाइन) बोक्सी नियन्त्रण गर्ने भूतप्रेत मेला लाग्ने भएको छ। परापूर्वकालदेखि वर्षेनि दसैंको अवसर पारेर आयोजना गरिने भूत मेलाको तयारी पूरा भएको सोनामाई मेला समारोह समितिले जनाएको छ। भूत मेलामा सहभागी हुन आउने श्रद्धालुको आवास, खानपानको समेत व्यवस्था गरिने आयोजक समितिले जनाएको छ।
स्थानीयले प्रत्येक वर्षझैँ यस वर्ष पनि भूत मेला समारोह समिति गठन गरेर व्यवस्थितरुपमा आगन्तुकहरुको लागि खाना र बस्ने व्यवस्था मिलाएको स्थानिय युवा रौशनकुमार यादवले बताए। सोनामाई मन्दिर परिसरलाई अहिले दुल्हीझैँ शृंगारिएको छ भने आगन्तुक श्रद्धालुको लागि नाच तमासा र रात्रिकालीन मनोरन्जनात्मक कार्यक्रमहरुको समेत व्यवस्था गरिएको छ। बडा दसैंको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा सहभागी हुन आउने पीडित र दर्शनार्थीको लामो लर्को नै लाग्ने गर्छ।

सदरमुकाम जलेश्वरदेखि ३२ किलोमिटर पश्चिम उत्तरतर्फ जलेश्वर-बर्दिवास सडक खण्डमा पर्ने औरही नगरपालिका ७ स्थित सोनामाई भोइल गाउमा अवस्थित सोनामाई मन्दिरमा बोक्सी भूतप्रेत नियन्त्रण गर्ने मेला लाग्ने गर्छ। तन्त्रसिद्धी तथा भूतबोक्सीमा विश्वास गर्नेहरुको घटस्थापनादेखि नै यस मन्दिरमा चहलपहल सुरु भएको छ। तान्त्रिक मान्यताअनुसार, घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परीक्षण गर्ने महापर्वको रुपमा विश्वास गर्नेहरु वर्षेनि सोनामाई मन्दिरमा ओइरो लाग्छन् र यस्ता महिलालाई स्थानीय भाषामा कारनी भनिन्छ।

कारनी र तिनका आफन्तहरु सोनामाईको प्रभावले तन्त्रमन्त्रको अबसरबाट मुक्ति मिल्ने विश्वासका कारण यहाँ आएका बताउँछन्। सोनामाइस्थानको ८ वर्ग किमी सीमा क्षेत्रभित्र पाइला टेक्नासाथ कारनीहरु काम्न सुरु गर्ने सोनामाई मन्दिरका पूजारी केदार झाको दाबी छ। उक्त मेलामा बोक्सी भूतप्रेत नियन्त्रण मेलामा आफ्नो शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजनहरु आउने गरको झा बताउँछन्। सोनामाइको मूर्ति राखिएकै मन्दिर परिसरमै पूर्वपट्टि राजदेवी काठको मौलो छ, जहा यो अदभूत मेला लाग्ने गर्छ। सोनामाईमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रुपमा मानिन्छ।

भूतप्रेत बोक्साबोक्सी र दुष्ट आत्मलाले सताइएका हजारौं पीडित प्रत्येक वर्ष यस मेलामा आउने गरेको सोनामाई २ घर भएका रौशन कुमार यादवले बताए। ’विश्वास गरेर आउने जोसुकै पीडित सोनमाईको असीम कृपाले निको भएर नै जाने गर्छ। ’ स्थानीय यादवले भने- ’सोनामाईको महिमाकै कारण यो मेलामा जहिल्यै पनि उतिकै भिड लाग्ने गर्छ।’ मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गर्दछन् ।
“सोनामाई शक्तिपीठमा थुप्रै धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन्”, अर्का पुजारी झगरु झाले भने । प्रत्येक वर्ष हजारौं दर्शनार्थी आउने यो मेलामा दुई वर्ष सम्म कोरोना भाइरस सङ्क्रमणका कारण निक्कै कम भक्तजन सहभागी भएका थिए।

यस वर्ष बढी नै भक्तजन सहभागी हुने अनुमान गरिएको सोनामाई भोईल बस्ने अन्दाजी वर्ष ४० को राम प्रवेश यादव र सोनामाई मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ । मेलामा आउने पीडित (कारनी)र दर्शनार्थीका लागि रातिको बास र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ ।
साथै यस सोनामाई मन्दिर भक्तजनहरूले भाकलको रुपमा बोका बलि प्रदान गर्नु पर्दा मेला समितिले यस वर्ष यस्तो निणर्य गरेको छ। घटनास्थापना देखि बिजयादशमी बोका बलि १५० रुपैयाँ र राँगा बलिको रु ३०० रुपैया र बली प्रदान भएको रांगाको दस्तुर याद वर्ष ५०० रुपैया मात्र दिनु पर्ने सोनामाई मेला समितिले सर्वसम्मतिबाट निणर्य गरिएको छ ।