जनकपुरधाम- इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शनिबार दाह संस्कार गरिएको छ । आनन्दको शवलाई उनको काकाको छोरा बेचन साहले दागवती दिएका थिए । आनन्दको मृत्यु गत असोज २१ गते इजरायलमा हमास चरमपन्थी समूहको आक्रमणमा परी भएको थियो ।
जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उतीर्ण गरेका उनी पूर्ण छात्रवृतिमा बिएससी एग्रिकल्चर गरेका थिए । सुदुरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै थप प्रशिक्षित बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइएको थियो। आनन्दको शव गाँउ पुग्दा भक्कानिए गाउँले सबै उनको शव हेर्न गाँउवासीको भिड मात्र लागेन हरेक गाउँवासीको आँखामा आँसु र अनुहारमा पिडा झल्किन्थ्यो ।
हमासको आक्रमणमा परी मृत्यु भएको उनको २७ दिनपछि शव ल्याइएको हो । नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार साढे ४ जनकपुरधाम विमानस्थलमा ल्याएको थियो । विमानस्थलबाट नेपाली सेनाकै टोलीले आनन्दको शव एम्वुलेन्समा सपहीसम्म पुर्याएको थियो । आनन्दको शव सपही पुग्दा पूरै गाउँ भावविह्वल बनेको थियो ।

















