
आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलको समीकरण पूरा भएको छ। फेरि एकपटक विश्वकप क्रिकेटको उपाधिका लागि चिर परिचित भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्।
आइतबार अहमदावादमा सन् २०२३ को एकदिवसीय विश्वकपका लागि टिम भारत र अस्ट्रेलियाबीचको भिडन्त हुन लागेको हो।
बिहीबार राति पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई संघर्षपूर्ण खेलमा जित हात पारेर भारतसँगको फाइनल खेल तय गरेको थियो। भारत भने यो विश्वकपमा हालसम्म सबै खेलमा जित हात पार्दै फाइनल पुगेको छ। भारतले १० खेलमा जितेर फाइनलमा पुग्दा अस्ट्रेलिया ८ खेलमा जित हात पारेको छ।
लिग चरणको खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको थियो। तर यो फाइनल खेल भएका कारण नजिता जे पनि हुनसक्ने खेल विश्लेषकहरुको दाबी छ। यदि बिहीबार अस्ट्रेलिया पराजित भएर दक्षिण अफ्रिका प्रतिद्वन्द्वी पाएको भए भारतका लागि सहज हुने पूर्व क्रिकेटरहरुको दाबी छ।
तर दबाब र महत्त्वपूर्ण खेलमा जित निकाल्ने अस्ट्रेलियाको विगतका कारण भारत सजग हुनुपर्ने भारतीय पूर्व क्रिकेटरहरुको विश्लेषण छ। धेरैले यो विश्वकपको फाइनललाई २००३ को वर्ल्डकप फाइनलसँग तुलना गरिरहेका छन्। जसमा भारत अस्ट्रेलियासँग पराजित भएको थियो।
उक्त विश्वकपमा अस्ट्रेलियाका कारण उपाधिमा ह्याट्रिक गर्नबाट चुकेको भारतका लागि फेरि पनि उस्तै नहोस् भन्ने उनीहरुको विश्लेषण छ। तर २००३ र २०२३को टिम इन्डियामा धेरै फरक रहेको र २० वर्षपछि फाइलन पुगेको भारतीय टिम धेरै बलियो भएको विश्लेषकहरुको दाबी छ।
भारतको ओपनिङदेखि मिडल अर्डर तथा सबै बलर पूर्ण फर्ममा छन्।
विराट कोहलीले अहिलेसम्म ७११ रन बनाएका छन्। उनी जारी विश्वकपको सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्ष स्थानमा छन्। भारतका रोहित शर्मा (५५० रन) र श्रेयस अय्यर (५२६ रन) को ब्याटबाट पनि लगातार रन बनिरहेको छ।
अर्कोतर्फ अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने खेलाडी डेभिड वार्नरले ५२८ रन बनाएका छन् भने उनीसँगै ग्लेन म्याक्सवेल र मिचेल मार्सले पनि दुई–दुई शतक प्रहार गरेका छन्।
बलिङमा भारतका मोहम्मद सामीले ६ खेलमा २३ विकेट लिएका छन् भने अस्ट्रेलियाका स्पिनर एडम जाम्पा (२२ विकेट) उनीभन्दा एक विकेट मात्र टाढा छन्।
भारतका जसप्रित बुमराह (१८), रविन्द्र जडेजा (१६), कुलदीप यादव (१५ विकेट) र मोहम्मद सिराज (१३ विकेट) लिएका छन्। अस्ट्रेलियाका जोस हजलउड (१४ विकेट) र मिचेल स्टार्क (१३ विकेट) पनि पछि छैनन्। दुवैले हरेक परिस्थितिमा टोलीको लागि विकेट लिन सक्छन्।
त्यसैले यस विश्वकपको फाइनलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध भारतको कीर्तिमान राम्रो छैन।
दुवै टोलीले अहिलेसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् भने ८३ जितसहित अस्ट्रेलिया भारतभन्दा (५७ जित) अगाडि छ।
विश्वकपमा दुवै टोलीले एकअर्कासँग १३ खेल खेलेका छन् र यहाँ पनि अस्ट्रेलिया ८–५ ले अगाडि छ।
भारतीय भूमिमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा छ। भारतमा खेलिएका ७१ एकदिवसीय खेलमा दुवै टोलीले समान ३३-३३ खेल जितेका छन्। साथै यस वर्ष दुई टोलीबीच खेलिएका ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ।
को कति पटक पुग्यो फाइलनमा ?
हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँचपटक जितेको छ भने भारतले दुई पटक जितेको छ। वेष्ट इन्डिजले दुई पटक, इंग्ल्याण्ड, श्रीलंका र पाकिस्तानले एक/एक पटक जितेका छन्।
अस्ट्रेलिया : पाँच पटक १९८७, १९९९, २००३, २००७, २०१५ र दुई पटक १९७५ र १९९६ मा फाइलनमा पुगेको थियो।
भारत : हालसम्म दुई पटक जितेको १९८३ र २०११ र २००३ मा फाइलनमा पुगेको
वेस्ट इन्डिज हालसम्म दुई पटक जितेको १९७५ र १९७९ मा र एक पटक १९८३ मा फाइलनमा पुगेको छ। यस पटक विश्वकप खेल्नका लागि छनोट नै नभएको।
श्रीलंका, पाकिस्तान र इंग्ल्याण्ड : एक/एक पटक विश्वकप जितेको । इग्ल्याण्डले २०१९ मा, श्रीलंकाले १९९६ मा र पाकिस्तानले १९९२ मा विश्वकप जितेका थिए।
इंग्ल्याण्ड १९७९, १९८७ र १९९२ मा फाइलनमा पुगेको थियो। श्रीलंका २००७ र २०११ मा र पाकिस्तान १९९९ मा फाइलनमा पुगेका थिए। न्यूजिल्याण्ड हालसम्म विश्वकप जित्न सकेको छैन। दुई पटक २०१५ र २०१९ मा फाइलनमा पुगेको थियो।
दक्षिण अफ्रिका : हालसम्म फाइलनमा स्थान नै बनाउन नसकेको। यस पटक इतिहास बनाउने प्रयास गरे पनि अस्ट्रेलियासँग बिहीबारको हारसँगै असफल भएको हो।