जनकपुरधाम- सिरहाको मिर्चैया नगरपालिका–९ मा यसवर्ष पनि भव्य रुपमा कमल दह मेला लाग्ने भएको छ । पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा यसवर्ष लाग्ने भव्य ‘कमलदह मेला’को सम्पूर्ण तयारी पुरा भएको छ ।
दशकौंदेखि प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मेला समितिले जनाएको छ । मेलाको भोलि बिहीबार उद्घाटन हुँदैछ ।
मेलाको उद्घाटन विहिवार दिउँसो १ बजे मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले गर्ने कार्यक्रम रहेको छ। मेला समितिले यसपालि पनि मेलालाई विशेष बनाउने गरी स्टल, बाटोघाटो, खानेपानीलगायत सबै व्यवस्थापन मिलाएको छ।
मेलामा विगत झैँ यसपालि पनि नेपाल र भारतका नाम चलेका पहवानहरूको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिनेछन् ।
पौराणिक एवं धार्मिक महत्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने मूख्य धार्मिक जनविश्वास रहिआएको छ । जसकारण कमलदहमा हरिबोधिनी एकादशीका दिन नेपालका विभिन्न ठाउँहरुबाट लाखौंको संख्यामा श्रद्धालुहरु आउने गर्छन् ।




