जनकपुरधाम
आजु मिथिला नगरिया निहाल सखिया,



चारों दुलहा में बड़का कमाल सखिया!
यस लोकभाकाका धार्मिक गीत संगीतले अहिले जनकपुर गञ्जायमान भएको छ।कारण साता व्यापी विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन जानकी मन्दिरमा रामसीताको विवाह हुँदैछ ।
त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाइन्छ । आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिने छ।
ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुबै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयम्भरपछि आज बेलुकी जानकी मन्दिरमा विवाह हुनेछ ।
जनकपुरधाममा सप्ताहव्यापीरूपमा विवाह पञ्चमी मनाउने क्रममा हिजो मटकोर महोत्सव मनाइएको छ । त्यसअघि तिलकोत्सव, नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ । सातौँ अर्थात् अन्तिम दिन भोलि रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी विधिवतरुपमा सम्पन्न हुनेछ ।
नेपालकी राजकुमारी सीता र भारतको अयोध्याका राजकुमार राम बीच त्रेता युगमा भएको उक्त विवाह नेपाल–भारतबीचको सांस्कृतिक सेतुको पर्याय बनेको छ।त्यती बेला देखि नै नेपाल र भारत बीच रोटी बेटीको सम्बन्ध रहेको बुझिन्छ।
यस सम्बन्धको साक्षी बन्न प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा सहभागी हुन लाखौं भारतीय तथा तेश्रो मुलुकमा पर्यटकहरू जनकपुर आइपुगेका छन्। पाहुनाहरूको स्वागत– सत्कारका लागि सम्पूर्ण जनकपुरवासीहरू निकै खटेका छन्।
‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं’ महन्थ रामरोशनदास भन्छन्– पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेहरूलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे। २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो।,’ अयोध्याबाट जन्ती ल्याउनका लागि दुई देशका सरकार र तत्कालीन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेको महन्थ बताउँछन्। पहिलो पटक चार–पाँच सय जन्ती गाडीमा आएका थिए। रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुरबाट जन्ती आएका थिए। त्यसयता हरेक पाँच वर्षमा औपचारिक रूपमा जन्ती ल्याउने गरिएको छ।
विवाहपञ्चमीको अवसरमा मधेस प्रदेश मा आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि बिदा दिने निर्णय गरेको हो ।
साता व्यापी यस महोत्सव अन्तर्गत कुन दिन के गरीन्छ ?
पहिलो दिन
मंसिर २६ गते यस वर्ष महोत्सव सुरु भयो। पहिलो दिन नगर दर्शन कार्यक्रम गरिएको थियो। त्रेता युगमा भगवान् राम आफ्ना भाइहरूका साथ जनकपुर आउँदा नगर क्षेत्रको अवलोकन गरेका थिए। रामायणमा उल्लेखित सोही क्षणहरूको स्मरण गर्दै विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन झाँकीको आयोजना गर्ने गरिन्छ। जसमा राम, लक्ष्मण र उनका भाइहरूको प्रतीकस्वरूप स–साना बालबालिकालाई सजाएर नगरमा घुमाउने गरिन्छ।
दोस्रो दिन
महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाइएको थियो। भगवान् राम जनकपुरमा घुम्ने क्रममा पुष्प वाटिकामा छिरेका थिए, जहाँ सीता पनि आफ्नी बहिनी र साथीहरूसँग घुम्न निस्केकी थिइन्। राम र सीताको पहिलो भेट सोही वाटिकामा भएको स्मरणमा फूलबारी लीला मनाउने गरिन्छ।
तेस्रो दिन
महोत्सवको तेस्रो दिन बिहीबार धनुष यज्ञको आयोजना गरियो। सीताको विवाहका लागि बुवा जनकले सर्त राखेका थिए। उनले भगवान् शिवको धनुष जसले उचालेर त्यसमा प्रत्यन्चा चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गरिदिने सर्त राखेका थिए। उक्त सर्तसहित जनकले धनुष यज्ञको आयोजना गरे। सो यज्ञमा ठूलठूला पराक्रमी राजा, महाराजा र वीर पुरुषहरू सहभागी भए। तर, कसैले पनि जनकको सर्त पूरा गर्न सकेनन्। शिवको धनुष उचाल्न त परै जाओस्, हल्लाउन पनि सकेनन्। तर, रामले भने सहजै धनुषलाई उचाले र भाँचिदिए। जनकको सर्त पूरा गरेपछि सीताको पतिका रूपमा चुनिए, राम। सोही प्रसंगलाई जीवन्त बनाउन धनुष यज्ञको आयोजना गर्ने गरिन्छ।
चौथो दिन
महोत्सवको चौथो दिनमा विशेष कार्यक्रम हुन्छ– तिलकोत्सव। रामले स्वयंम्बरको सर्त पूरा गरेपछि राजा जनक र अयोध्याका राजा दशरथबीच छोराछोरीको विवाहको मिति तय गर्न भेटघाट गरिन्छ। जसलाई तिलकोत्सव समारोह भनिन्छ। यस समारोहमा सीताको अभिभावकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र रामको अभिभावकको रूपमा राम मन्दिरका महन्थ राम गिरीको सहभागिता भव्य समारोहबीच हुन्छ। तिलकोत्सव कार्यक्रमका लागि जानकी मन्दिरबाट राम मन्दिरमा थरीथरीका मिठाई, फलफूल र कोसेलीहरू (भार) पठाउने चलन छ। तिलकोत्सव कार्यक्रममै सम्धी भेटघाट हुने गर्छ। यो कार्यक्रमलाई स्थानीय युवा क्लबहरूले विशेष रूपमा आयोजन गरी भव्य बनाउने गर्छन्।
पाँचौं दिन
महोत्सवको पाँचौं दिन मटकोर हुन्छ। पवित्र गंगासागर पोखरीबाट माटो खनेर ल्याएपछि सोही माटोले विवाहको मडवा (मण्डप) लिप्ने विधिलाई मटकोर भनिन्छ। मटकोर कार्यक्रम गर्न जानकी मन्दिरबाट सीताको सवारी निस्केपछि त्यसलाई लाखौं श्रद्धालुहरूले गीत गाउँदै र नृत्य गर्दै आशीर्वाद दिने गर्छन्।
छैटौं दिन
साताव्यापी मनाइने विवाह पञ्चमीको छैटौं दिन विशेष हुन्छ। आइतबार जानकी मन्दिरबाट निस्कने माता सीताको डोली र राममन्दिरबाट निस्कने भगवान् रामको डोली ऐतिहासिक बाह्बिघा मैदानमा परिक्रमा गराएर लाखौं श्रद्धालुहरू र अयोध्याबाट आएका साधुसन्तको जन्तीको अगाडि स्वयम्बर गराइन्छ। स्वयम्बरपश्चात् डोलीहरू मन्दिर फर्किन्छन् र साँझबाट जानकी मन्दिरको परिसरमा बनाइएको भव्य मडवामा वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ।
सातौं दिन
महोत्सवको अन्तिम दिन रामकलेवा हुन्छ। रामकलेवामा अयोध्याबाट विवाहमा सहभागी हुन आएका साधुसन्तहरू र सहभागी सबै श्रद्धालुहरूलाई जानकी मन्दिरको तर्फबाट भोजको आयोजना गरिन्छ। भोजपछि साधुसन्तलाई कोसेली दिँदै बिदाइ गरिन्छ। यसरी विवाहपञ्चमी सम्पन्न हुन्छ।
यस्तो छ जनकपुरधामको इतिहास
विवाह पञ्चमीको सुरुआत कहिलेदेखि भयो भने यकिन साथ भन्न नसकिएपनि आधुनिक जनकपुरधामको निर्माणसँगै रामनवमी तथा विवाह पञ्चमी जस्ता मेला, उत्सवहरूको सुरुवात भएको जनविश्वास रहेको छ।
भनिन्छ, सत्रौँ शताब्दीको अन्त्यसम्म मिथिला वा जनकपुर गुमनाम नै थियो। ‘द हिस्ट्री अफ जनकपुरधाम’ किताबमा मानवशास्त्री रिचर्ड बरघर्टले यस बिचको समयलाई जनकपुर हराएको समय अर्थात् जनकपुरको ‘अन्धकार युग’ भनेर उल्लेख गरेका छन् । सन् १९७० भन्दा करिब तीन सय वर्षअगाडिको जनकपुरको इतिहासबारे उनले चर्चा गरेका छन् । सोह्रौँ–सत्रौँ शताब्दीतिर गङ्गा किनारमा रामको पूजा र भक्ति चारैतिर फैलिएको थियो । त्यही बेला रामानन्दीसाधुहरू त्रेतायुगको मिथिला सहर कहाँ छ भनेर खोज्दै हिँडेका थिए ।

भारतको बद्रीनाथबाट चतुर्भुज गिरी नामका साधु मिथिला खोज्दै अहिलेको जनकपुर आइपुगे। सपनामा उनले भगवान् रामलाई देखे । रामले भने, “तिमी जुन रूखमुनि सुतेका छौ, त्यही ठाउँमा पुरानो जनकपुर छ, जुन विदेहहरूको राजधानी थियो ।” यतिबेलै अर्का साधु सुरकिशोर दास पनि उत्तरी मिथिला आइपुगे ।
चतुर्भुज दसनामी सम्प्रदायका थिए भने सुरकिशोर रामानन्दी सम्प्रदायका । उनि पश्चिम भारतको लोहागढ शिखरमा बस्थे । जनकपुरको खोजीमा हिँडेका उनी एकदिन नीमको रुखमा आराम गरिरहेका बेला सीताको मूर्ति त्यहीँ ठाउँमा देखे । सीताको जुन जन्मभूमिको खोजीमा निस्केका उनि यहीँ ठाउँ नै सीताको जनकपुर हो भने सम्झिे।
स्रोतहरूलाई उधृत गर्दै अध्येता एवं विश्लेषक रोशन जनकपुरीका अनुसार, छैठौँ शताब्दीमा भारतवर्षमा गुप्तवंशको शासन (हर्षबद्र्धनकाल)को एकीकृत साम्राज्य पतन भएपछि त्यस मातहतका कैयौँ स्थानीय शासकहरूले आफूलाई स्वतन्त्र घोषित गरेका मध्येका अरुणाश्वलाई मिथिलाका शासक भनेका छन् । त्यतिबेला मिथिला गुप्तवंशी शासनको तीर भुक्ति (भुक्ति–प्रदेश)को एउटा शासकीय उपप्रदेश थियो । सन् ६७० तिर वाङ ह्वेन त्से नामक एक जना चिनियाँ राजनीतिक प्रतिनिधि त्यतिबेला यस क्षेत्रमा भ्रमण गरेका थिए । अरूणाश्वको सेनाले वाङ ह्वेन त्सेको सेनामाथि आक्रमण ग¥यो । नेपाल मण्डल र कामरूपको सेनाको मद्दतले वाङले अरुणाश्वमाथि जवाफी आक्रमण गरे र उनलाई पक्रेर आफूसँगै लगे । उनको उतै मृत्यु भयो ।

‘मिथिलाके इतिहास’का रचयिता डा. राधाकृष्ण चौधरीका अनुसार चीनमा अरुणाश्वको शव गाडिएको ठाउँमा राखिएको शिलालेखमा उनलाई मिथिलाको राजाको रूपमा उल्लेख गरिएको छ । अध्येता जनकपुरीका अनुसार सबभन्दा महत्वपूर्ण के छ भने चौधौँ शताब्दीमा विद्यापतिको भूपरिक्रमण जनकपुरका प्रसिद्ध पोखरीहरू गङ्गा सागर, विषहरि पोखरी (बिसहरा पोखरी), अरगजा आदि पोखरीहरूको उल्लेख गरिएको छ । यस अतिरिक्त जनकपुरभन्दा पाँचकोषमा धनुषा (धनुषाधाम) र परशुराम कुण्ड समेतको उल्लेख गरिएको छ । विद्यापतिको यस भूपरिक्रमणको सन्दर्भले जनकको राजधानी हो–होइन भन्ने वहस सिर्जना गरे पनि त्यतिबेला जनकपुरको अस्तित्व थियो र यो जनकको राजधानी (महाग्राम)को रूपमा प्रसिद्ध थियो भन्ने तथ्य त स्थापित हुन्छ नै ।
विद्यापतिको यस साक्ष्यले के सङ्केत दिन्छ भने जनकपुरको अस्तित्व जनक र सीताको मिथिलाको रूपमा विद्यापतिभन्दा धेरैअघि नै थियो । यस दृष्टिले जनकपुरलाई हामी कम्तीमा सय दुई सय वर्षपछाडि लगेर बाह्रौ शताब्दीसम्म त स्थापित गर्न नै सक्छौँ । यद्यपि एघारौँ शताब्दीमा सिमरौनगढमा स्थापित कर्णाटवंशी शासनकालका दस्ताबेजमा हालसम्म जनकपुरबारे चर्चा पाइएको छैन । यसबाट के स्थापित हुन्छ भने कि यसअघि जनकपुर कुनै अन्य नामबाट परिचित थियो कि त कर्णाटवंशी शासनकालमै जनकपुर जनकवंशको नगरीको रूपमा प्रसिद्ध हुन थाल्यो र यहाँ मेला लाग्न सुरु भयो ।

यो जनकको नगरी मिथिलाको प्रसिद्धि नै थियो कि रामानन्दी सम्प्रदायको प्रसारसँगै साधुहरू मिथिलाको खोजीमा जनकपुर आउन थालेको देखिन्छ । यसै क्रममा सबैभन्दा पहिले राममन्दिरका आदि महन्थ चतुर्भुज देखा पर्छन्, जसलाई विजयुर गढीका सेनवंशी राजा इन्द्रविधाता सेनले सन् १७१७ मा रामजानकी मन्दिरको निम्ति दानपत्र लेखेर दिएका थिए । दानपत्रमा सवत् ११२४ लेखिएको छ र यसबारे नेपालका इतिहासकारबिच केही विवाद पनि देखिन्छ तर तुलनात्मक अध्ययन गर्दा यो फसली संवत् भएको देखिन्छ। फसली संवत् र इस्वी संवत्मा ५९३ वर्षको फरक हुन्छ । यस हिसाबले इन्द्रविधाता सेनको दानपत्र १७१७ ठहरिन्छ र यो समीचीन पनि देखिन्छ । किनभने जानकी मन्दिरको आदिसन्त सुरकिशोर दासको प्रशिष्य (चौथो पुस्ता) राम दासलाई मानिक सेनले सन् १७२७ मा दानपत्र दिएको पाइन्छ ।
यी दुई दस्ताबेजले चतुर्भुज गिरी र सुरकिशोर दासमध्ये को पहिले आए भन्ने प्रश्नको समाधान त गर्दैन, तर त्यतिबेला गिरीको राममन्दिर नै प्रसिद्ध रहेको जनाउँछ । इन्द्रविधाता सेनले राममन्दिर (तत्कालीन रामजानकी मन्दिर)लाई दानपत्र गर्ने बेला सम्भवतः त्यहाँ सामान्य मठ पनि निर्माण गरेका थिए किनभने शाहवंशी दस्ताबेजमा सन् १७८२ ई.मा राजा रणबहादुर शाहका जर्नेल अमरसिंह थापाले राममन्दिरको पुनर्निर्माण गराएको उल्लेख छ, अध्येता जनकपुरी तर्क दिन्छन् ।
सन् १८१४–१६ नेपाल ब्रिटिस भारतबिचको युद्धपछि सन् १८२० मा यस युद्धबारेको एउटा रिपोर्टमा रामजानकी मन्दिर ११५ यार्डमा फैलिएको वर्गाकार पर्खालहरूमा गुम्बद भएको चारतले मन्दिरको रूपमा उल्लेख गरिएको छ ।
जनकपुरको इतिहास बारे खोतल्दै जाँदा त्रिपिटक एवं उपनिषदसम्बद्ध मिथकसम्म पुग्न सकिन्छ । विदेह गणराज्यको राजधानी मिथिला एवं त्यहाँका जनक भनिने प्रजापालकका गाथा किम्बदन्तीमा समेत भेटाइन्छ तर मिथिलाको राजधानी कुनै सैनिक ‘गढ’ नभएर सौन्दर्यको ‘पुर’ थियो भन्ने विवरण चित्रण लोकप्रिय बनाउने श्रेय आम भाषामा काव्य रचना गर्ने विलक्षण कवि गोस्वामी तुलसीदासलाई दिइनु पर्दछ ।
सिम्रौनगढका कर्नाट शासकको पालामा स्वामी रामानुजु प्रवर्धित वैष्णव परम्पराले मिथिला क्षेत्रमा व्यापकता पाएको हुनु पर्छ । कर्नाट राज्य विखण्डित भएपछि पनि देवस्थान महन्थ प्रचलनले गर्दा धर्मस्थलको प्रभाव घट्न पाएन । कालान्तरमा मकवानपुरका सेन राजाहरूले समेत वैष्णव संस्कृतिलाई संरक्षण दिए । गोर्खालीहरूको वर्चस्व स्थापित भएपछि नाथ सम्प्रदायका योगीको प्रभाव विस्तार त भयो, तर स्वामी रामानन्दबाट नयाँ ऊर्जा पाएको वैष्णव पथ कमजोर हुन पाएन । देवशमशेरलाई धपाएर श्री ३ को श्रीपेच हत्याएका चन्द्रशमशेरको पालासम्म जनकपुरका सन्त निकै प्रभावशाली भइसकेका थिए ।
जानकी मन्दिर स्थापित गर्ने श्रेय सत्रौँ शताब्दीका सन्त सुरकिशोर दासलाई दिइने गरिन्छ ।भारतको टिकमगढ राज्यकी रानी वृषभानु कुँवरले १९१० सालमा नौलक्खा मन्दिर बनाएकी थिइन्। मुगल शैलीको यो मन्दिर बनाउन नौ लाख खर्च लागेको थियो।





