महोत्तरी – महोत्तरी प्रहरीले दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिको पहिचान यकिन नगरि अन्त्येष्टि गरेको छ । गत पुष १६ गते गौशाला सम्सी सडकखण्डमा मोटरसाईकलको ठक्करबाट घाईते भएका अन्दाजी ३० वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले बेवारिसे शव भन्दै उनको अन्त्येष्टि गरेको छ ।
घटना लगतै वडामा लासको सदगत गरिदिन भन्दै ईलाका प्रहरी कार्यालय गौशालाबाट परिपत्र आएको भएपनि शवको अन्त्येष्टि भए नभएको आफु“लाई जानकारी नभएको गौशला १ का वडाअध्यक्ष नविन साहले बताए । तर प्रहरी भने वडा कार्यालयले शवको सदगतको व्यवस्था मिलाएको र वडाको सहमति मै शवको अन्त्येष्टि गरेको बताए ।



बर्दिवास अस्पतालको शव गृहमा राखेको मृतकको हुलिया सम्बन्धित निकायमा परिपत्र गरिएको अवस्थामा पनि दावी गर्न कोहि नआएपछि जनप्रतिनिधिको रोहवरमा कानुनत मृतकको अन्त्येष्टि गरेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी नायव निरिक्षक मनोज कुमार यादलले बताए । तर स्थानियले भने दुर्घटनालाई गुपचप बनाउन प्रहरीले मृतकको शव जलाउन हतार गरेको आरोप लगाएका छन् । अनुसन्धान पुरा नहु“दै र मृतकको पहिचान नखुल्दै प्रहरीले मृतकको सदगत गर्नु ठिक नभएको स्थानियको भनाई छ ।
अस्पतालको शव गृहमा शव राख्ने व्यवस्थापन राम्रो नभएका कारण शवको अन्त्यष्टि गर्न प्रहरी बाध्य भएको महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लले बताए । मृतकको फोटो,भिडियो, मुचुल्काका आधारमा अनुसन्धानको पाटो अघि बढिरहेकाले दावी गर्न कोहि आएमा प्रहरीले क्षतिपूर्ति उपलब्ध गराउ“ने मल्लले बताए । अस्पतालले लास उठाउ“न अनुरोध गरेकाले शवको अन्त्येष्टि गर्न हतार गर्नपरेको प्रहरीले बताएपनि बर्दिवास अस्पताललाई भने प्रहरीले मृतकको शव लगेको र अन्त्येष्टि गरेको जानकारी समेत छैन । बर्दिवास अस्पतालकी प्रमुख डाक्टर कृष्णा महर्जनले बेवारीसे शवहरु ७ दिनसम्म अस्पतालमै रहने हुँदा अस्पतालले कुनै अनुरोध नगरेको बताईन् । ‘चिसो मौसम भएकाले लास कुहिहाल्ने अवस्था पनि थिएन’ उनले भनिन्, ‘हामीले लगिहाल्नुस भनेका पनि थिएनौ, लगेको हामीलाई थाहा पनि छैन’ ।
यता यस सन्दर्भमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २० उपदफा उपदफा (८) बमोजिम हकवालाले लाश बुझी नलिएमा वा कुनै हकवाला उपस्थित नभएमा वा हकवाला नै यकिन नभएमा सम्बन्धित प्रहरी कर्मचारीले सरकारी खर्चमा लाशको सदगत गराउन पर्नेछ उल्लेख भएअनुसार गरिएको इप्रका गाैशलाका इन्सपेक्टर मनोज यादवले बताए ।
सोहि घटनपछि फरार रहेका मोटरसाइकल चालकलाई भने प्रहरीले आइतबार पक्राउ गरेको छ । मृतक पुरुषलाई ठक्कर दिने ज ६ प ४८४६ नम्बरको मोटरसाईकल चालक गौशाला ५ का ३८ वर्षका गणेश प्रसाद साहलाई पक्राउ गरि प्रहरी नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी मल्लले बताए ।




