तीलासंक्रान्तिको दिन तील खाने सन्तान तथा आफन्तले वृद्धावस्थामा केही आपतविपद पर्दा सेवा गर्ने वचन लिने गर्छन्।
जनकपुरधाम –मिथिलाञ्चल क्षेत्रमा परिवारका अग्रज र आमा–बाबुबाट आफ्ना सन्ततिलाई सख्खर र तीलको लड्डु खुवाई बुढेसकालमा सेवा गर्नुपर्ने सन्तानबाट बचन लिँदै तिला संक्रान्ति पर्व मनाइदैछ।



आजको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकोले पनि यस दिनलाई ‘मकर संक्रान्ति’ पनि भनिन्छ। यस दिनलाई माघे संक्रान्ति, तिला संक्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ। यस क्षेत्रमा भने यस दिनलाई विशेषगरी तिला संक्रान्तिकै रुपमा मनाउने चलन छ।

मिथिलाका परम्पराका जानकार पण्डिताईन शिला देवी झाले भनिन्, ‘तिला संक्रान्तिको दिन घरको ज्येष्ठ सदस्यको हातबाट टिका लगाउने र गुड (मिठ्ठा) मिसाइएको तीलचामल खाने र विशेष वचन लिने परम्परा छ। सो क्रममा आमाले आफ्ना सन्तानलाई “हमर तिल बहबी” अर्थात हाम्रो सेवा गर्छौ नि भनेर वचन लिने गरीन्छ । तीलासंक्रान्तिको दिन तील खाने सन्तान तथा आफन्तले वृद्धावस्थामा केही आपतविपद पर्दा सेवा गर्ने वचन लिने गर्छन्।’
झाले खिचडी, तील र च्युराको लड्डु लगायतका परिकार बनाएर घरका देवदेवीलाई चढाएर पूजापाठ गरी सबै परिवारका सदस्य एकै ठाउँमा बसेर खाने चलन रहेको बताईन् ।
मिथिलाञ्चलमा मनाइने प्रत्येक पर्वमा बेग्लाबेग्लै लोककलाको प्रदर्शनी र चित्रांकन गर्ने कार्यअन्तर्गत तिला संक्रान्तिका दिन बिहानै भक्तजनले चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै शृङ्गार गर्छन्।

कतिपयले आजका दिन बिहान नुहाएर भगवतीको उपासना पनि गर्छन् भने कतिपयले भगवतीको प्रतिमा तेल, चामल, सख्खर चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ।
यसरी मान्यजनबाट तिल र चामल लिएर उनीहरूप्रति श्रद्धा तथा आस्थाको भावना प्रकट गरिन्छ। धार्मिक मान्यता अनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाइ, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ।
यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई ’खिचडी पर्व’ पनि भनिन्छ। यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ। ब्राह्मण दानका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ। यस पर्वमा तिल तथा च्युराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई ‘तिलवा च्युरा’ पनि भन्ने चलन छ।

यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै, मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ।
मैथिली भाषामा ‘माघ मास घिव खिचडी खाउँ’ भन्ने लोकोक्ति नै छ। खिचडीमा घरको घीउ अनिवार्यरूपमा हालिन्छ। मैथिली भाषाको अर्को उखान अनुसार ‘खिचडी के चार यार, पापड, दही, घिव, अचार’ पनि यस क्षेत्रमा प्रचलित छ। जसअनुसार खिचडीको साथमा पापड, दही, घीउ तथा अचार खाँदा अपूर्व स्वाद पाइन्छ भन्ने लोक मान्यता छ।
घीउ हालेको पहेंलो खिचडीमा तर लागेको सेतो दही तथा थालको वरिपरि कचौरामा लहरै साग र भुजिया राखेर खाने प्रचलन छ।
कतिपय व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन्। उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि गर्ने परम्परा रहिआएको छ।
मकर संक्रान्तिको दिन विशेष गरी तीलको परिकार बनाई, देउतालाई चढाउने, दान गर्ने परम्परा छ। पण्डित इन्द्रकान्त झाका अनुसार तीला संक्रान्तिको दिन एक दाना तील दान गर्दा १ हजार तील दान गरेको फल प्राप्त हुन्छ। पण्डित झा भन्छन्, ‘आजको दिन तील खाने, तील दान गर्ने र तीललाई आगोमा राखी आगो ताप्नाले बर्षभरी नै स्वस्थ्य रह्न सकिन्छ।’
खासगरी मिथिलानी महिलाका लागि ‘तिला संक्रान्ति’ पर्वको अझ बढी महत्व छ। यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले ‘तुसारी पर्व’ प्रारम्भ गर्छन् भने विवाहित महिला ‘पृथ्वी पर्व’ प्रारम्भ गर्छन्। नवविवाहित दुलाहाको घरबाट दुलहीको घरमा यस पर्वमा तिल वा च्युराको कोसेलीका साथै जाडोमा लगाउने वस्त्र आउने परम्परा रहिआएको छ। यस प्रथालाई मैथिलीमा ‘जडाउर’ भनिन्छ।
यसबाट दुई परिवारबीच सौहार्दता, पारस्परिक सहयोग एवम् सद्भाव वृद्धि हुने गरेको छ। आयु, आरोग्य, रूप र गुण अभिवृद्धिको प्रतीक भएर प्रत्येक वर्ष आउने तिला संक्रान्ति पर्व हर्षोल्लास सहित सम्पन्न हुन्छ।
त्यसैगरी माघ १ गते अर्थात मकर संक्रान्तिको दिन नवविवाहिताहरुले साँझपूजाको प्रारम्भ गर्छन्। सोहि अनुसार नयाँ विवाह भएका महिलाहरुले आजदेखि साँझपूजाको शुरुवात गरेका छन्।
लगातार एक बर्षसम्म हुने साँझपूजामा विशेषगरी पार्वती र महादेवको पूजा गरिन्छ।
नवविवाहित महिलाहरुले पतिको दिर्घायूको कामना गर्दै साँझपर्व मनाउँछन्। ब्रह्मान र कायस्थ जातिमा हुने साँझपर्वमा माघ १ गते देखि विधिवत रुपमा नयाँ वस्त्र, अन्न, फलफुल र तीन प्रकारको माटोमा सिन्दुर मिसाई महादेव पार्वतीको पूजा शुरु गर्छन्। यो पूजा एक बर्षसम्म साँझपख नै गरिन्छ भने अर्को वर्ष माघ १ गते नै यो पूजाको ‘निस्तार’ अर्थात समाप्ति हुन्छ। साँझ पूजा सुरु गर्ने रीना कणर्का अनुसार एक वर्षसम्म प्रत्येक साँझ भगवाण शिवपार्वतीको पूजा ३ प्रकारको माटो मिसाइएको सिन्दुर, बेलपत्र र फूलले गर्ने परम्परा छ।
त्यस्तै धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरू गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउ खिचडी खान्छन्। पुस महिनासम्ममा तिल, सख्खर पूणर्रूपले उत्पादन भइसक्नु र उक्त उत्पादित वस्तुबाट यो पर्व मनाउनुको अर्थ कृषि र संस्कृतिबीचको अभिन्न एवम् अविभाज्य सम्बन्ध रहेको बुझिन्छ।

मकर संक्रान्तिको अवधीमा देहत्याग गर्ने व्यक्ति जन्ममरणको चक्रबाट पूणर्तः मुक्त हुने विश्वास हिन्दुधर्मालम्वीहरुमा रहिआएको छ। महाभारतमा वयोवृद्ध योद्धा भीष्म पितामह पाण्डव र कौरवको बीच भएको कुरुक्षेत्र युद्धमा सांघातिक रूपले घाइते भएका थिए। उनलाई इच्छा मृत्युको वरदान प्राप्त थियो।
पाण्डव वीर अर्जुन द्वारा रचित बाणशैयामा सुतेका भीष्म पितामहले शरीर छाड्न उत्तरायण अवधिको प्रतीक्षा गरेका थिए। सूर्य मकर राशिमा प्रवेश गरेपछि उनले आफ्नो अन्तिम श्वास लिएका थिए।
तिला संक्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदाको घोषणा गरेको छ।




