
महोत्तरी — बर्दिवासमा कार्यालय स्थापना भएको १८ वर्षपछि नेपाल टेलिकमले सेवाग्राहीलाई सेवा दिन थालेको छ । सर्वसुलभ मूल्यमा एन्टी फाईभर नेट सहित टेलिकमले दिने सबै सेवा बर्दिवास कार्यालयबाटै दिन थालिएको कार्यालय प्रमुख निरज कुमार जयसवालले जानकारी दिए ।
टेलिकमले २०६२ सालमा बर्दिवासमा शाखा कार्यालय स्थापना गरेको थियो । कार्यालय संचालन भएपनि सेवा विस्तार नहुँदा जिल्लाका उत्तरी क्षेत्रका औरही, बर्दिवास, गौशालालगायत अन्य ठाउँबाट समेत सेवाग्राही सदरमुकाम जलेश्वर धाएरै सेवा लिदैँ आएका थिए ।
लामो समयदेखि बर्दिवासमै टेलिकमको सेवा माग गरिरहेका सेवाग्राही बर्दिवासबाटै सेवा सुरु भएपछि खुशी भएका छन् । कार्यालयमा सेवा लिन पुगेका बर्दिवास-१२ घर भएका रंजित कुमार सिंहले सेवा लिन जनकपुर र जलेश्वर धाएर जानुपर्ने बाध्यता हटेको बताए ।
चालु आर्थिक वर्षमै कार्यालयले पुरानो प्रविधि कपर लाइन हटाएर फाइबर लाइन बिछ्याई सेवाग्राही बढाउने लक्ष्य लिएको कार्यालय प्रमुख जयसवालले बताए । पहिले टेलिफोन जडान र मर्मत गर्दै आएको टेलिकम कार्यालयले अहिले नयाँ सिमकार्ड वितरण, हराएको सिमकार्ड दिने, पुरानो सिमकार्ड दिने, एन्टी फाइभर नेट जडान, टेलिफोन सेवासहित जडान र मर्मत लगायत आर्थिक भुक्तानी सेवा पनि कार्यालयबाटै सुरु गरिसकेको जयसवालले बताए ।
कार्यालयले २०८० जेठ १६ बाटै सेवा सुरु गरेको भएपनि अझै धेरै सेवाग्राहीलाई बर्दिवासमै सेवा पाहिन्छ भन्ने जानकारी नहुँदा जलेश्वर र जनकपुर पुगेर सेवाग्राही फर्किएर सेवा लिने गरेका टेलिकम कार्यालयले जनाएको छ ।-कान्तिपुर