महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा भोली सोमवार देखि प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना हुने भएको छ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा शुरु हुन लागेको प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगितामा कूल ८ वटा राष्ट्रिय स्तरको टिमको सहभागिता रहने क्षीरेश्वरनाथ नगरपालिकाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले प्रतियोगिताको सफलताको कामना गर्दै सबैले यस प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रमा आफ्नो किसिमले सहयोग गरिदिनको लागि आग्रह गरे ।
प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, नेपाल सेना तथा आयोजक संस्था मदन भण्डारी स्पोर्टस् एकेडेमीका गरेर ८ टिमका १ सय ४४ जना महिला हक्की खेलाडीको सहभागिता रहने मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।
फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
खेलकुद मार्फत देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढाउनका आयोजना हुन लागेको प्रथम महिला हक्की प्रतियोगिता क्षीरेश्वरनाथ माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र कप, द्वितीय हुनेलाई कप सहित १ लाख र तृतीय हुने टिमलाई कपसहित ५० हजार नगद प्रदान गर्ने कार्यक्रम रहेको एकेडेमीका केन्द्रीय अध्यक्ष आचार्यले जानकारी दिए।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार र उमेन अफ दी म्याच हुनेलाई ५ हजार नगद प्रदान गरिने र प्रतियोगितामा ५६ लाख १३ हजार खर्च हुने अनुमान रहेको जनाएको छ ।
यस्तो छ खेल तालिका





