काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर महन्थ ठाकुरसहितका नेतासँग मिलेर गठन गरेको लोसपाबाट महतो अलग भएका हुन् ।



लोसपाका अध्यक्ष ठाकुरले पार्टीलाई क्रियाशील बनाउन नसकेको र पार्टीलाई मनोमानी ढंगले सञ्चालन गरेको भन्दै महतो असन्तुष्ट थिए ।यसअघि बहुमत पुर्याएर विधिवत् रुपमा पार्टी विभाजन गर्ने तयारीमा रहेका महतोले अन्ततः महासचिव केशव झालगायत नेताहरूलाई साथमा लिएर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को घोषणा गरेका हुन् ।
गत ५ माघमा नै अभियानको घोषणा गर्ने मनस्थिति बनाएका महतोले एक महिना ढिलो गरी पार्टीबाट अलग भएको घोषणा गरेका उनी निकट नेताहरूको भनाइ छ ।महतोले गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका थिए । त्यसपछि आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरेका उनले केही समयपछि विभिन्न मधेशकेन्द्रित दलसँग मिलेर राष्ट्रिय जनता पार्टी गठन गरेका थिए । उक्त पार्टीमा पनि ठाकुर र महतोबीच निरन्तर शक्ति संघर्ष भइरहेको थियो ।
अध्यक्ष मण्डलको प्रणालीबाट सञ्चालन भए पनि ठाकुर र महतोबीच निरन्तर विवाद उत्पन्न भएको थियो । त्यसपछि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएका महतो र ठाकुरले दुई वर्षअघि लोसपा गठन गरेका थिए । पार्टी गठन भएदेखि नै निरन्तर विवाद भइरहेको लोसपामा महतोले गत २४ मंसिरमा सम्पन्न केन्द्रीय समिति बैठक नै बहिस्कार गरेका थिए ।
अब के गर्छन् महतो ?
सोमबार पार्टी परित्यागको घोषणा गरेका महतोले आदिवासी जनजातिको अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भएका जोसुकै यसमा जोडिन सक्ने बताए ।
‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् । मेरो पूर्व पार्टी लोसपालाई पनि मैले आह्वान गरिसकेँ । लोसपा पनि आओस् यो अभियानमा ।’महतोले ‘कुनै पार्टी वा दलबाट राष्ट्रिय मुक्ति क्रान्ति सम्भव नभएको’ भन्दै बहुल राष्ट्रिय राज्यमा कांग्रेस, माओवादी, जसपा, लोसपालगायत सबै दल र तिनका नेता पनि सहभागी हुनसक्ने बताएका छन् ।
‘मेरो पूर्व पार्टी लोसपालाई पनि मैले आह्वान गरिसकेँ । त्यो लोसपा आओस् यो अभियानमा’, उनले भने, ‘राष्ट्रिय मुक्ति क्रान्तिका लागि अभियान, संघर्षका लागि एउटा सशक्त संगठनले पैदा गर्छ । त्यो शक्तिले यो मुलुकमा राष्ट्रिय मुक्ति क्रान्ति गर्छ ।’उनले सञ्चालन हुने क्रान्तिले नै नयाँ पार्टीको नाम निर्धारण गर्ने बताए ।
अहिलेसम्म फुटाउ र राज गरको नीति अन्तर्गत आफूमाथि शासन भएको भन्दै उनले अब विद्रोह गर्ने बताए ।‘यो डिभाइड एन्ड रुलको अर्थ हामीले बुझिसक्यौँ । हामी तीस वर्षसम्म लडिरह्यौँ । शासकले गोली ताकेर हानिरह्यो । हामीले बुझिसक्यौँ’, उनले भने, ‘सबै आन्दोलन यो स्वदेशवादमा समाहित हुने हो । बहुल राष्ट्रिय राज्य निर्माणका लागि सबै आउँछन् । मधेसवाद, थरुहट र सबै जनजातिवाद एक ठाउँमा आउँछन् ।’
उनले नेपालमा अहिलेसम्म पूँजीवाद र साम्यवादले काम नगरेको बताए ।‘यो गोर्खाली औपनिवेशिक सत्ता काम लागेन । क्यापिटालिज्म र कम्युनिज्म सबै काम लागेनन् । त्यो विचारबाट दुनियाँ नै नष्ट भइसक्यो’, उनले भने ।
उनले बाह्य शक्तिले हस्तक्षेप गरेको भन्दै आफ्नै पहिचान सहितको सभ्यता निर्माण गर्ने बताए ।‘यो पूर्वीय सभ्यताको धर्ती हो । पश्चिमी सभ्यताबाट हस्तक्षेप भइरहेको छ । औपनिवेशिक सबै शासक भए, तर जनताले न्याय पाएनन्’, उनले भने, ‘हामीले हाम्रो संस्कृति र पहिचानको रक्षा गर्नुपर्छ ।’उनले परम्परागत सोचबाट पार्टी नचल्ने भन्दै अभियान घोषणा गर्नु देशको आवश्यकता भएको बताए ।




