काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैं गठबन्धन तोडेकाले आफूसँग कुनै नयाँ रणनीति नभएको बताएको छ ।
सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नो निवासमा बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको ब्रिफिङ गर्दै उक्त कुरा बताएका हुन् ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अब प्रतिपक्षको बेन्चमा फर्कने बताए । उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौं । अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं ।’
कांग्रेसले गठबन्धन नतोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने लेखकको भनाइ छ । लेखकले भने, ‘अब जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ।’







