
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष समेत रह्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज जनकपुरधाम आउँदैछन्।
सभामुख रामचन्द्र मण्डलका अनुसार मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा बोलाइएको छ । प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ ।
प्रदेश सभाको बैठकलाई सम्बोधन पश्चात प्रधानमन्त्री ओली सिराहा प्रस्थान गर्ने कार्यक्रम रहेको छ, जहाँ उहाँ नेकपा (एमाले) को जिल्ला अधिवेशनमा सहभागी हुने छ ।
प्रधानमन्त्रीको आगमनलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिए ।
प्रजिअ कडरीयाका अनुसार प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने छ र प्रदेश सभा सम्बोधनपछि त्यहीँबाट सिराहाका लागि प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ ।
मधेशमा पछिल्लो समय राजनीतिक बहस, सङ्घीयता कार्यान्वयनको चुनौती र विकास निर्माणका कामको गति सुस्ताएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणले नयाँ सन्देश दिने अपेक्षा समेत गरिएको छ ।