जनकपुरधाम – मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले लागु पदार्थको कुलतबाट बालबालिकालाई जोगाउनका विद्यालय तहबाट नै जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक भएको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजना तथा नयाँ मुस्कान सुधार केन्द्र जनकपुरधामको समन्वयमा लागुऔषध नियन्त्रणसम्बन्धी स्थानीय तह तथा विभिन्न संघ संस्थाहरूको सहभागितामा आज जनकपुरधाममा सम्पन्न जनचेतना मूलक अन्तरक्रियामा उहाँले विद्यालयहरूमा लागु औषध विरुद्धको जनचेतनामूलक कार्यक्रम गर्न प्रदेश सरकार समन्वय र सहकार्यका लागि तयार रहेको बताउनुभयो ।



उहाँले नेपाल भारतको सिमानामा लागु औषधको सेवनमा विद्यालयका साना साना बालबालिकाहरू फस्ने गरेकाले सुरक्षा निकायले यसमा विशेष निगरानीका साथै भारतीय पक्षसँग समन्वय गरेर चिकित्सकको पुर्जीको आधारमा मात्र नेपालीलाई औषधि दिनुपर्ने विषयमा कडाइ गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले विद्यालय तहमा नै नैतिक शिक्षामा जोड दिन जरुरी रहेको बताउँदै बालबालिकालाई कुलतबाट नजोगाइए भविष्यमा मुलुक ठूलो समस्यामा पर्ने बताउनुभयो ।
धनुषाको कमला नगरपालिकाका प्रमुख विश्वेश्वर यादवले सीमावर्ती क्षेत्रमा लागु औषधको सेवन तथा कारोबार बढेकाले यसको प्रभावकारी नियन्त्रण जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले आजका बालबालिकाहरू भोलीका भविष्य हुने भएकाले लागु औषधको दुर्व्यसनी हुनबाट जोगाउने हरेकको नागरिकको दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले लागु औषधको कारोबार तथा सेवनमा संलग्न भएकाहरूको पाँच वर्षको तथ्याङ्क दिँदै यसको प्रभावकारी नियन्त्रण विद्यालय तहबाट नै हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक अभियन्ता सुभद्रा आले, महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ता, नयाँ मुस्कान सुधार केन्द्र जनकपुरधामका सञ्चालक सन्तोष ठाकुर, पूर्व लागु औषध दुर्व्यसनी विनोद कुमार यादवले बोल्नुभएको थियो । चाडपर्व शुरु हुन भन्दा अगाडी गरिएको कार्यक्रमको सहभागीले प्रशंसा गर्नुभएको थियो ।




