
जनकपुरधाम- मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यले संघियता धरापमा पर्ने भन्दै जसपा नेपालका युवा विद्यार्थीहरु जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
समाजवादी युवा संघ तथा समाजवादी विद्यार्थी युनियनको अगुवाईमा युवा विद्यार्थीहरुको समुहले जनकपुरधाममा सिट्टी जुलुस प्रदर्शन गर्दै विरोध गरेका छन् ।
मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा सङ्घ र समाजवादी विद्यार्थी युनियनले मधेस सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको हाे ।
जसपा नेपाल निकटको युवा सङ्गठन तथा विद्यार्थी सङ्गठनले संयुक्त रूपमा मधेस सरकारको जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।
आफूहरूले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरेपनि माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेसका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए। मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार समेत नरहेको भन्दै राजीनामा माग गरे।
जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध र्याली मधेस भवन तर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजेपनि युवा विद्यार्थीहरू प्रहरीको घेरा निस्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।