काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी रघुवीर महासेठले सम्हालेका छन् । नेकपा एमालेले उनलाई उपप्रधान तथा भौतिकमन्त्रीसहित पार्टीबाट नेतृत्व गराउँदै सरकारमा पठाएको हो । महासेठले दोस्रो पटक भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । यसअघि २०७४ चैत २ मा उनी भौतिकमन्त्री नियुक्त भएका थिए । तर, उनको कार्यकाल सफल भने रहेन ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारमा भौतिकमन्त्री बनेका महासेठ सहितका मन्त्रीहरुको काम सन्तोषजनक नभएपछि २०७६ मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । त्यसपछि २०७६ मंसिर ४ मा उनी मन्त्रीबाट बाहिरिएका हुन् ।
यातायात व्यवस्था विभागको महानिर्देशकलाई काम गर्न नदिएको, सिन्डिकेटवाला यातायात व्यवसायीहरुको पक्षमा लागेको, काम नगर्ने ठेकेदारकै पक्षमा उभिएको, निर्माणको काम गराउन नसकेको, काठमाडौं उपत्यकाभित्र संघ सरकारले हेर्ने सडकका खाल्डाखुल्डी पुर्न पटक/पटक प्रधानमन्त्रीले भन्दा पनि अटेर गरेको लगायत कारण उनको कार्य सन्तोषजनक नभएपछि फेरिने मन्त्रीको सूचीमा परेका थिए ।
उनी दुई तिहाई मतसहित बनेको सरकारका भौतिकमन्त्री थिए । जसले गर्दा उनले जनअपेक्षाअनुसार काम गर्लान् सबैको आशा थियो, तर त्यो अनुसार उनले काम गर्न सकेनन् । त्यो बेला मन्त्री महासेठले ३ महिनाभित्र काठमाडौंलाई खाल्डारहित बनाउने दाबी गरेका थिए, खाल्डाखुल्डी पुर्न त परको कुरा रह्यो । उपत्यकाभित्र निर्माणधीन सडकमा ठेकेदारले ढिलाई गरे पनि कारबाहीको दायरामा ल्याउन सकेनन् । सुर्यविनायक–धुलीखेल सडक विस्तार उनकै हस्तक्षेपका कारण समयमै ठेक्कामा जान नसकेको आरोप लाग्ने गरेको छ ।
उनी बाहिरिएपछि बसन्तकुमार नेम्वाङ भौतिकमन्त्री नियुक्त भएका थिए । महासेठ प्रतिनिधिसभा सदस्यमा ०७४ र ०७९ मा धनुषा ४ बाट निर्वाचित भएका हुन् । ०६७ फागुनदेखि ०६८ भदौसम्म जलस्रोत र ०७८ जेठ २१ देखि ०७८ असार ८ सम्म महासेठ परराष्ट्रमन्त्री भएका थिए ।




