धनुषा-मिथिलाञ्चलका बहुचर्चित साँस्कृतिक उत्सव तथा संसार कै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आज आइतवार देखि विधिवत सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

यस परिक्रममा १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।



फागुन कृष्णपक्षको औसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा सुरु हुन्छ । आइतवार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु सोमवार विहान पुजापाठ गरी भारतको विहार राज्य स्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन् ।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकि परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले बताउनुभयो ।
महाशिवरात्री लगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालाको फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ।
मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौ सहभागिता रहने यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैस्णवले बताउनुभयो ।
परिक्रमामा सहभागिहरुको लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागिहरुको सुविधाका लागि पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानी लगायतको व्यवस्था मिलाएको जानकारी परिषदका अध्यक्ष सितल साहले गराउनुभयो ।
परिरषदका अध्यक्ष साहका अनुसार परिक्रमावासीहरु राती गाउँ भन्दा टाढा खुला चौर,बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन। स्थानीय बासिन्दाहरुले पनि सहभागिहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागि गोरुका लागि पराल समेत उपलब्ध गराउने गर्दछन् । सहभागिहरु दिनभरी यात्रा गर्छन र भजनकिर्तन तथा सत्संग गरेर रात विताउछन् ।
मिथिलाका जानकार तथा मैथिलीका साहित्य समेत रहेका पूर्वपत्रकार रोशन जनकपुरीको अनुसार नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको २ गरी १५ विश्रामस्थल छन्। मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ।
मिथिला महात्म्य अनुसार १८ औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइदै आएको हो। यस यात्राका सहयात्रीले नेपालका १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिका पैदलयात्र तय गर्ने परम्परा रहेको छ। परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ ।
मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दुरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिका भित्र पर्दछ।
जानकी मन्दिरका महन्थ दासका अनुसार जनकपुर स्थित रत्नसागर स्थानका स्व.महन्त बाबा नारायण दासजीले करिब डेढसय वर्षपूर्व समयदेखि दुईसय सम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार प्रारम्भ गर्नुभएको हो । त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधु सहित वाजागाजा सहित परिक्रमा गरेका थिए।
पाँचसयको सानो संख्यालाई बढाएर २० हजार पुर्याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको जानकी मन्दिरका महन्थ दासले बताउनुभयो।
माध्यमिकी परिक्रमामा करिब साठी वर्ष अघिदेखि मिथिला महात्मयको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले सत्तरी वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकी करण गर्नुभएको थियो । उहाँको निधनपछि मिथिला महात्मयको कथा वाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरि रह्नु भएको छ।
परिक्रमामा सहभागि हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित इन्द्रकान्त झाले बताउनुभयो ।
प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।
गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागीता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस पर्वमा सहभागी हुने गरेको जानकारी परिक्रमामा डोलीका अगुवाई गर्ने नबल बाबाले जानकारी दिनुभयो।

यस्तो छ परिक्रमा पथ
पहिलो दिन ः- फागुन औंसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर (कुवा) हो। जनकपुरधामबाट २ किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरु भएको १ सय ६० वर्षअघि स्थापित मन्दिर छ।
दोस्रो दिन ः- दोश्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ। भव्य कुण्ड तथा विश्रामालय समेत रहेको कलाणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ। भविष्यवेत्ताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा १ सय १० वर्ष बसेको ठाउँ पनि यही हो।
तेश्रो दिन ः- तेश्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारत मै पर्छ। स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ। गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरु एवं कप्टहारिणी र शरसमीर पोखरीहरु भएको यो ठाउँबाट जमुनी नदी बगेको छ।
चौथो दिन ः- यस दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन्। महोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा ८ वटा पोखरी भएको घना बस्ती हो। नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठहरु छन्।
पाँचौं दिन ः- मिथिला परिक्रमाका यात्रीहरु यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन्। जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैंभरि जलमै डुबेको हुन्छ।
छैटौं दिन ः- यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन्। यहाँ मुनेश्वर महादेवको मन्दिर तथा २ वटा आकर्षक पोखरी छन्।
सातौं दिन ः- सातौं दिनको विश्रामस्थल धु्रंव कुण्ड हो। यहाँ धु्रवजीको मन्दिर छ।
आठौं दिन ः- यात्रीहरुको आठौं दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ। यहाँ सीतारामको मन्दिर छ।
नवौं दिन ः- यस दिनको विश्रामस्थल पर्वता हो। यहाँ हनुमानजीको विहाल मन्दिर छ। पर्वता पुग्नुपूर्व भक्तजनहरुले हरिहरपुर स्ति क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन्।
दसौं दिन ः- यस दिन यात्रीहरु धनुषाधाम आइपुग्छन्। सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ। यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ। विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलोमेला लाग्ने धनुषाधाम स्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टी करिब ५ सय विघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ। यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ।
एघारौं दिन ः- यात्रीहरुको एघारौं दिनको गन्तव्य सतोषर हो। राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ।
बार्हौ दिन ः- यात्रीहरुको बार्हौ दिनको गन्तव्य औरही हो। जनकपुर जयनगर रेल्वेको तेश्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजनहरु कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन्।
तेर्हौ दिन ः- भारतको विशौल परिक्रमा यात्रीहरुको तेर्हौ दिनको गन्तव्य हो।
चौधौं दिन ः- चौधौं दिन परिक्रमा यात्रीहरु करुणा भन्ने स्थानमा आइपुग्छन्। यो कलाणेश्वर नजिकै छ।
पन्ध्रौ दिन ः- यस दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन्। यो यात्राका अन्तिम दिन हो। फागुपूणर्िमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूणर्िमाको विहानै जनकपुरको पञ्चकोसी परिक्रमा (अन्गगृह) पछि श्रद्धालुहरु जानकी मन्दिर लगायत अन्य मठ मन्दिरहरुमा दर्शन, पूजन गरी घर फर्कन्छन्।
यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ। परिक्रमा यात्रीहरुका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ।
माध्यमिकी परिक्रमा क्षेत्रको अधिकांश भूभाग नेपालमा पर्ने गर्छ। परिक्रमामा सहभागी हजारौं यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौं श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी लगायत गैरसरकारी क्षेत्रका संस्थाहरु प्रयासरत रहेका छन ।




