काठमाडौ । आज सोमबारसँगै औँसी पनि परेको छ । औँसी र सोमबार एकै दिन परेको दिनलाई हिन्दु धर्म अनुसारसोमबारे औँसीका रूपमा मनाउने गरिन्छ । आजका दिन बिहान सबेरै उठेर नबोली नुहाउनु पर्ने चलन पनि छ । त्यसैले आजका दिनलाई मौन औँसी पनि भनिन्छ ।
वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ । यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने चलन छ ।



पुराणमा भनिए अनुसार आज भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने उल्लेख छ । आजको दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ ।
सोमबार औँसी तिथि आज मध्यराति १२ बजेर २७ मिनेटसम्म रहने र त्यसपछि चैत्रशुक्ल प्रतिपदा आरम्भ हुने नेपाल पञ्चाङ्गमा निर्णायक समितिले जनाएको छ ।




