जनकपुरधाम- मधेश प्रदेशमा पहिलो पटक ‘छोराछोरी बराबरी, बिस पारी बिहेबारी’ भन्ने नाराका साथ सोमबार बाल विवाह विरुद्धको दिवश मनाइएको छ ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख १७ गतेका दिनलाई बालविवाह विरुद्धको दिवस मनाउन गरेको निणर्यबमोजिम प्रदेशको राजधानीसहित प्रदेशका पालिकामा विभिन्नखालका कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।
मधेश प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा मधेश प्रदेशमा बालविवाह विरुद्ध कार्यरत सेभ द चिल्ड्रेन, यूएसएड एआरएच परियोजना, वल्र्ड भिजन, प्लान इन्टरनेशनल, लाइफ नेपाल, सबल नेपाल, आसमान नेपाल लगायत संघसंस्था तथा संयुक्त राष्ट्रसंघीय निकायहरुसँगको समन्वय तथा सहयोगमा आज यो दिवस मनाइएको हो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न कार्यक्रममा बालविवाह विरुद्धको ६ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको थियो भने बालविवाह अन्त्यका लागि किशोरकिशोरी अन्तरसम्वाद, बालविवाह विरुद्धको नाटक प्रस्तुति, बालविवाह मुक्त घोषणा भएका (सप्तरीका सुरुङ्गा र खडक नगरपालिका) स्थानीय तहहरुलाइ सम्मान, बालविवाह विरुद्धको अभियानमा सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाइ कदरपत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमका बक्ता तथा सहभागीहरुले बालविवाह रोक्न सामूहिक प्रयासको खाँचो रहेको बताउँदै बालविवाह समाजको साझा समस्या भएकाले अन्त्यका लागि संयुक्त प्रयास हुनुपर्ने बताएका थिए ।
मन्त्रालयद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा मधेश प्रदेशमा १५ वर्षअगावै विवाह गर्नेको सङ्ख्या ८।९ प्रतिशत, १८ वर्षअगावै विवाह गर्नेको सङ्ख्या २९।३ र १५ देखि १९ वर्ष उमेर समूहमा विवाह गर्नेको सङ्ख्या १५।२ प्रतिशत रहेकाले यसको अन्त्यका लागि सबैको प्रयास हुनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले प्रदेश सरकारले बालविवाह अन्त्यका लागि तार्किक कार्य ढाँचासहितको १० वर्षे रणनीतिक योजना तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको बताइन् ।

महिला, बालबालिका तथा सामाजिक न्याय समिति, मधेश प्रदेश सभाका सभापति रुपा यादवले अभिभावकको कमजोरीका कारण बालविवाहका घटना बढदैगएको भन्दै अभिभावकले आफ्नो छोराछोरीलाई शिक्षादीक्षा दिनमा कुनै किसिमको कन्जुस्याइँ गर्न नमिल्ने बताइन् ।
नीति तथा योजना आयोगका सदस्य डा। शिला मिश्रले प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गरिरहेको भन्दै बालबालिकालाई शिक्षित बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सुरुंगा नगरपालिकाका नगर प्रमुख गीता चौधरीले आफ्नो नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गर्नेक्रममा भएका चुनौती बारेमा सहभागीलाई जानकारी गराइन् ।
कार्यक्रममा प्रदेशको आठवटै जिल्लाबाट बालबालिका तथा किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । बाल विवाह अन्त्यको लागि सबै स्थानीय तह, प्रदेश र संघ सरकारको भुमिका महत्त्वपूणर् रहनेमा अन्य सहभागीहरुको जोड थियो ।



