जनकपुरधाम- रगत अभावका कारण कसैले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्ने उदेश्यले जनकपुरधाममा रक्तदान कार्यक्रम गरिएको छ। सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरधामको आयोजना र ब्लड फर नेपालको सह-आयोजनामा आइतबार कलेजको प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ।
उक्त रक्तदान कार्यक्रममा ५१ पुरुष र २६ महिलाले रक्तदान गरेका थिए भने १५४ जनाले रगत समुह परिक्षण गराएका थिए। सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले प्राविधिक सहयोग गरेका थिए। ब्लड फर नेपाल का टिमले केहि दिन अघि मात्र सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरधाममा रक्तदान सचेतना कार्यक्रम गरेका थिए। त्यस कार्यक्रममा सयौँ विधार्थीहरुको सहभागीता रहेको थियो।
सोही रक्तदान सचेतना कार्यक्रम को प्रभावले आजको रक्तदान कार्यक्रम सफल भएको ब्लड फर नेपाल धनुषा टिमका सह संयोजक अमित यादव बताउँछन्।उनका अनुसार "हामी यो भन्दा पहिला पनि जनकपुरधामको मोडेल मल्टिपल कलेजमा रक्तदान सचेतना कार्यक्रम गरेका थियौ र त्यसपश्चात सोही कलेजमा रक्तदान कार्यक्रम गर्दा धेरै विधार्थीहरुको सहभागीता रहेको थियो,"सोही अनुरुप हामीले सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरधाममा पनि यस्तै गर्यो।