महोत्तरी- चुरे विनाश,प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ औरही बजारका दर्जनौँ घरमा खानेपानीको समस्या भएको छ।
औरही नगरपालिका वडा नम्बर १ र २ का दर्जन बढी घरमा पानीको समस्या विकराल बन्दै गएको छ। लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको हो।
'मुहान धमाधम सुकेका छन् ।सर्वसाधारण जुन ठाँउमा पानी आउछ त्यो ठाँउको चापाकल र मोटरबाट पानी तान्ने ठाँउमा दिन र रातभर लाइन बस्न बाध्य छन्। पानीको सतह भासिएका कारण बोरिङ,हातेपाइप लगाएतका अधिकांश पानीका श्रोत सुकेका छन्,' औरही नगरपालिका १ औरही बजार बस्ने एक स्थानीयबासी किशोरी साहले भने। 'सरसफाइ त परै जाओस् स्थानीयलाई पिउने पानीको जोहो गर्न समेत मुस्किल परेको छ,' उनले भने, 'पानीकै अभावले खाना पकाउन ,नुहाई धुलाई गर्न ,गाई गोरुलाई खुवाउन लगायत दैनिक उपभोगग्य अति आवश्यक कामहरुमा पानीको अभाव भएको छ ।
पानीकै कारण अहिले खुल्ला शौच पनि बढेको छ। हातेपाइपमा अन्त पानी आउने ठाँउमा पुग्नुपर्ने बाध्यता रहेको स्थानियले बताएका छन्। यो खडेरीले अनिकालमात्र होइन, रोगव्याधी पनि निम्त्याउने भन्दै स्थानीयहरु चिन्तित बनेका छन्।
'पानीको मुहान सुकेपछि स्थानीय बासिन्दा जो पैसा बला छ त्यो पानी किनेर खाने गरेको छ।भने गरिब मान्छेहरु जस्तोसुकै परिस्थिति परे पनि अरुको खेतमा र घरमा रहेको हातेपाईप र मोटरबाट धमिलो पानी होस् या दूषित पानी पिउन बाध्य छन्।
औरही नगरपालिका १ बाट बग्ने जङ्गहा खोला,औरही बजार भन्दा पुर्व रहेको रातो खोलामा पूरै सुक्खा बालुवा बाहेक केही देखिँदैन। अलिअलि पानी रहेको हातेपाईपमा पानी भर्न स्थानीयवासी घन्टौँसम्म लाम बस्नुपर्ने अवस्था छ।
रातु खोलामा वर्षौंदेखि क्रसर व्यवसायीले गर्दै आएको ढुंगा, बालुवा र गिट्टीको अवैध उत्खननले खानेपानीको मुहानमा गम्भीर असर परेपछि इनार र हातेपाइप सुकेको औरही नगरपालिका २ बस्ने घनश्याम यादवले बताए। औरही नगरपालिका १ बस्ने सुजित यादवले भने अत्यधिक चुरे दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेकाले हाम्रो गाउँ तिर र सोक्षेत्रका आसपासका गाउँ र बस्तीमा पानीको हाहाकार नै मच्चिएको हो।
औरही नगरपालिका १ औरही बजारबाट बिजलपुरा जाने बाटोमा पानी टंकी बनेको करिब ३ वर्ष भन्दा बढी भयो तर अहिले सम्म संचालनमा आएको छैन।यस प्रति कसैलाई ध्यानाकर्षण नभएको स्थानीयले गुनासो गरेको छ।




