जनकपुरधाम - रौतहटमा आँप टिपेको विषयमा विवाद हुँदा एक किशोरको हत्या भएको छ । ईशनाथ नगरपालिका –९ लवातना टोलका १७ वर्षीय सहबाज मियाँ आलमको हत्या भएको हो ।मंगलबार राति उनको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको रौतहटकी प्रहरी प्रवक्ता प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।उनको घटनामा संलग्न आरोपमा रौतहट प्रहरीले दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटना लगतै मंगलबार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुईजना अभियुक्त दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
डीएसपी गिरीका अनुसार मंगलबार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैँचामा दशईले पछाडिबाट अनुहार टाउकोमा रड प्रहार गरेको र उनी भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको १ दिन अघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलम संग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई २,४ थप्पड हानेका थिए ।सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए ।