काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । यसका लागि संसद बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते पद तथा गोपनियताको सपथ गरेका थिए ।
संविधान अनुसार प्रधानमन्त्रीको पदभार ग्रहण गरेको ३० दिन भित्र विश्वासको मत लिन सकिने भएपनि ओलीले एक साता भित्रै विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसको सहयोगमा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपाको ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ ।
नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी, राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र २ सांसदले मत कता दिने विषयमा निर्णय गरिसकेका छैनन् । संसदमा हाल कायम संसद् संख्यामध्ये विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ ।
कांग्रेस र एमालेविच गत असार १७ गते मध्यरात भएको ७ बुँदे सहमति पनि प्रधानमन्त्री ओलीले आज संसदमा सम्वोधनका क्रममा सार्वजनिक गर्ने बताइएको छ । ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दुई दलबीच भएको सत्ता साझेदारी सम्झौता संसदमा जस्ताको तस्तै सार्वजनिक गर्ने बताए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि संसदमा देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले सहमती पत्र सार्वजनिक गर्नुपर्ने कांग्रेस महामन्त्री गगन थापाले माग गर्दै आएका छन् ।