बर्दिवास- महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारा स्थित स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराइएको छ।
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आईतवार एक कार्यक्रमका बीच उक्त एम्बुलेन्स स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन् ।
महोत्तरी जिल्लाकै अति दुर्गम क्षेत्र भित्रपर्ने बर्दिवास नगरपालिका १० र ११ नम्बर वडाका सुत्केरी महिलालाई निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामीलाई उपचारकालागि अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख क्षेत्रीले बताए।
बर्दिवासका १४ वडा मध्ये दुर्गम पहाडी भेगका वडालाई प्राथमिकतामा राखेर नगरपालिकाले एम्बुलेन्स खरीदगरी हस्तान्तरण गरिएको नगर प्रमुख क्षेत्रीले बताए।

ग्रामीण भेगको स्वास्थ्यचौकीमा उपचार सेवा प्राप्त गर्न आएका बिरामी र सुत्केरीलाई तत्काल अन्यत्र थप उपचारका लागि लैजानु परे एम्बुलेन्स सेवा प्रभावकारी हुने भएकाले अधिकांश वडा र सो अन्तर्गतका स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्य केन्द्रलाई क्रमश.ंएम्बुलेन्स उपलब्ध गराउँदै जाने नगरपालिकाको मुख्य लक्ष्य रहेको नगर प्रमुख क्षेत्रीको भनाई रहेको छ ।
स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त भएपछि वडाका सर्वसाधारणलाई उपचारकालागि बाहिर लैजान सहज हुने बिश्वास लिईएको स्थानिय सामाजिक अभियन्ता पोशन थापाको भनाई छ ।
बर्दिवास नगरपालिकाले २२ लाख रुपैयाँमा अग्नी कर्परेट कम्पनी काठमांडौसंग एकमहिना अघि खरिद गरेको एम्बुलेन्सको उपयोगबाट स्वास्थ्य संस्थासम्म जानका लागि निजी सवारी साधनको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको बताईएको छ ।
वडामा एम्बुलेन्स सञ्चालनमा आएपछि वडाभित्रका नागरिकले सहज रुपमा सेवा पाउने कुरामा बिश्वस्त भएका छन् ।
बर्दिवास नगरपालिका ११ का निरनाथ गेलालले १० बर्षदेखी गाउँको स्वास्थ्य संस्थामा एम्बुलेन्स आउछ भन्दै जनप्रतिनिधिहरुले आश्वासन दिए पनि नआएको तर अहिले नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले ल्याईदिनु भएकोमा सम्पूर्ण नगरपालिकाको टिमलाई धन्यवाद ज्ञापन गरे ।


