महाेत्तरी - महाेत्तरीकाे गौशालामा आजदेखि नापी कार्यालय संचालनमा आएको छ । आईतबार एक समारोहकाबीच प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विधिवत रुपमा कार्यालयबाट सेवा सुचारु गरिएको हो । गौशालामा नापी कार्यालय सेवा सुचारु भएपछि जिल्लाका चार पालिकाका सेवाग्राहीलाई समयको साथै आर्थिक रुपमा वचत भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘यस कार्यालयबाट स्वच्छ, निष्पक्ष अनि भरपर्दो सेवा प्रवाह गरिनेछ । २०७८ वैशाख १७ गते कार्यालय स्थापना भएतापनि लामो समयदेखि प्राविधिक कारणवश यस कार्यालयबाट सेवा सुचारु हुन सकेको थिएन । जसका कारण यहाँका सेवाग्राहीले सदरमुकाम जलेश्वरबाट सेवा लिन बाध्यता रहेको थियो ।
’गत साता जलेश्वरस्थित मालपोत कार्यालयबाट स्रेस्ता (मोठ) ल्याएपछि आजबाट कार्यालयमा नापी सम्बन्धि कार्य सुरु भएको कार्यालय प्रमुख ईन्जिनियर किशन साहले बताएका छन् । विविध कारणवश लामो समयको प्रतीक्षा पश्चात् यहाँबाट सेवा सुचारु गराउन विभिन्न पक्षहरूले सहयोग गरेकै प्रतिफल प्राप्त भएको प्रमुख साहले बताएका छन् ।