
धनुषाको एक स्थानीय तहमा एकै कार्यालयमा दुई वटा प्रमुख प्रशासकीय अधिकृतका कारण विवाद हुँदै आएको छ । जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको कार्यालयमा दुई जना प्रमुख प्रशासकीय अधिकृत रहेका कारण कार्यालयको कामकाज प्रभावित हुँदै आएको छ । र दुवै जना प्रमुख प्रशासकीय अधिकृतका कारण वाक्कदिक्क भएका कर्मचारीहरु आन्दोलित भएका छन् ।
दुईजना प्रमुख प्रशासकीय अधिकृत हुँदा आफूहरुलाई मानसिक तनाव दिने गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । आन्दोलित कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्रसमेत बुझाएका छन् ।
सो ज्ञापन पत्रमा गाउँपालिकाको कामकाज नियमित रुपमा संचालन हुँदासमेत प्रमुख प्रशासकीय अधिकृत भएर सरुवा भएका सर्वजीत कुमार झाले अनाधिकृत रुपमा पत्र मार्फत सो गाउँपालिकाको कर्मचारीहरुलाई कारबाहीको चेतावनी तथा स्पष्टीकरण माग गर्नेलगायत अमर्यादित व्यवहार गरेको भन्दै घोर भत्सर्ना गरेको जनाइएको छ ।
सो ज्ञापन पत्रमा भनिएको छ, ‘गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु विरोध गर्न बाध्य भई अत्यावश्यक सेवा वाहेक सम्पुर्ण कामकाज ठप्प गर्न वाध्य छौं तथा यसै पत्र मार्फत पेन डाउन गरिएको व्यहोरा जानकारी गराउँदछौं तथा निज सर्वजीत कुमार झाले गैर जिम्मेवार तथा गैर कानुनी पत्र फिर्ता नलिएको खण्डमा अझ सशक्त आन्दोलन गर्न बाध्य हुने छौँ ।’ दुई प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण कर्मचारीहरु अलमलमा पर्ने गरेको र जसले गर्दा मानसिक तनावसंगै यातना जस्तो महसुस गरेपछि बाध्य भएर पेन डाउन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको इन्जिनियर राकेश यादवले जानकारी दिए ।