
महोत्तरी - धनुषा जिल्ला स्थित मुखियापट्टी मुसरनियाका तरकारी कृषकहरु जैविक खेतीतर्फ आकर्षित हुन थालेका छन । तरकारी खेतीको लागि सोहि क्षेत्रमा नाम कमाउन सफल मुखियापट्टी मुसरनियाका कृषकहरु विस्तारै विषादी प्रयोगलाई कम गर्दै जैविक खेतीतर्फ आकर्षित हुन थालेका हुन ।
पछिल्लो एक वर्ष देखि मुखियापट्टी मुसरनियाको वडा नं. १,३ र ५ मा ‘इस्ट वेस्ट एग्रोभेट कन्र्सन’ जनकपुरले जिजिजिआई संगको सहकार्यमा क्लाईमेट स्मार्ट एग्रिकल्चर अन्तर्गत विभिन्न ५ समुह बनाई १५२ कृषक मध्ये १२५ कृषकलाई जैविक खेतीको लागि तालिम सहित बिउ र विभिन्न सामग्री उपलब्ध गराउदै आएपछि कृषकहरु जैविक खेतीको महत्व बुझ्न थालेका हुन । कृषकहरुलाई नर्सरी म्यानेजमेन्ट,गुड एग्रिकल्चर प्राक्टिस,जलवायु परिवर्तन र यसका प्रभाव,वाली संरक्षण जस्ता तालिमहरु दिइदै आएको छ । कृषकहरुलाई स्प्रे टंकी,जैविक मल,जैविक प्लान्ट ग्रोवर जस्ता सहयोग गरि ‘इस्ट वेस्ट एग्रोभेट कन्र्सन’ जनकपुरले जैविक खेतीतर्फ कृषकहरुलाई प्रोत्साहन गर्न प्रयास गरेको छ ।

मुखियापट्टी मुसरनिया गाउपालिका वडा नं. ३ निवासी कृषक मिथिलेश साहले ‘इस्ट वेस्ट एग्रोभेट कन्र्सन’ जनकपुरसंग जोडिएपछि जैविक खेती वारे बुझेको बताउदै पछिल्लो समय रासायनिक मल प्रयोग गरि खेती गर्दै आएकोमा विस्तारै जैविक खेती गर्न थालेको बताए । उनले आफुसंग भएको सवै खेतमा हाल जैविक प्रविधि प्रयोग गर्न नसकिएपनि विस्तारै नमुनाको रुपमा केहि खेतमा जैविक खेती गर्न थालेको र विस्तारै यसलाई वढाउदै रासायनिक खेती पुणर्रुपमा त्याग गर्ने बताए । उनले जैविक खेतीबाट उत्पादन हुने तरकारीहरु स्वस्थ्यकर हुने भएकोले उपभोक्तासम्म जैविक खेतीबाट उत्पादित तरकारी पुर्याउने लक्ष्य लिएको बताए । उनले जैविक खेती मार्फत अहिले काउली,भान्टा,मुली,गोलभेडा लगायतका तरकारी उत्पादन गरिरहेको बताए ।

त्यसतै स्थानिय कृषक सुमित्रा देवी महतोले समेत पछिल्लो केहि वर्षमा रासायनिक मलको प्रयोगले माटोको उत्पादन क्षमतामा ह्रास आएको बताउदै उनले जैविक खेती अंगाल्नुको विकल्प नरहेको बताईन । उनले खेतहरुको उपचार गर्नु पर्ने आवश्यक्ता रहेको बताउदै विस्तारै जैविक खेतीलाई वढाउन थालेको बताईन ।
