महोत्तरी - महोत्तरीमा नदीले बगाउँदा एक किशोरीको ज्यान गएको छ । जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा सोमवार विग्ही नदीले बगाउँदा किशोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।
उनका अनुसार मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहेको छ । विग्ही नदीमा नुहाउन गएकी उनलाई नुहाउने क्रममा आएको बाढीले बगाएको थियो ।
नदीले बगाएको किशोरी आरतीलाई स्थानीयले खोज्ने क्रममा बगाएको स्थानदेखि पाँच सय मिटर तल फेला पारेका थिए । किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।