सिन्धुली – सिन्धुलीका बाढीपिडितलाई चिसो बढेसँगै कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ । बढीले बस्ने बास सबै बगाएपछि उनीहरुलाई अहिले कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको हो । गत असोज १२ र १३ गतेको वर्षा पछि आएको सुनकोशी नदिले ढुवानमा परेका गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजार बगरमा परिणत भएको छ । खुर्कोटका भरत मल्ली चिसो बढेपछि कहाँ बस्ने भन्ने चिन्तामा हुनुहुन्छ । उहाँले भन्नुहुन्छ, “अब चिसो बढ्यो, न्यानो तातो ठाउँ छैन । चिसोमा सडक मै बस्ने कुरा पनि भएन । साना–साना नानी भएकाले झनै समस्या हुने देखिएको छ । अहिले हामी यहाँ नजिकै सानो छाप्रो बनाएर बसेका छौँ ।” बाढीले घरवास नै बगाएर लगेपछि उहाँ अहिले अस्थायी टहरा बनाएर बस्नु भएको छ । “बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ । कसको घरबास कहाँ नेर हो भन्ने ठम्याउन सकिँदैन ,” उहाँले भन्नुभयो ।
सोहि स्थानकी देव कुमारी बस्नेत पनि कहाँ बस्ने भन्ने चिन्ताले रातको निन्द्रा नै हराउने गरेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चिसो नहुँदा भूइमै बस्दा पनि खासै समस्या थिएन । अहिले त चिसो बढ्यो । दिउँसो घाम लागे पनि रात र विहान धेरै नै चिसो छ । विहान र राती आगो तापेर बस्ने गरेका छौँ । ओड्ने तातो लुगा छैन, बस्ने बाँस छैन । बाढीले सबै बगायो । खाने अन्नको समस्याले पनि सताएको छ ।”
सुनकोशी नदीमा आएको बाढीले बगर बनाएको मुल्कोट बजारका नागरिकको समस्या पनि यस्तै छ । बाढीले घर बगाएपछि खाने अन्न र बस्ने बासँको समस्या भएको गुनासो गरेका छन् । चिसो बढेसँगै यहाँका बाढीपिडितलाई झनै समस्या बढेको बताएका छन् ।
चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि बाढीपहिरो पिडित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुढा, खानपिनका सामाग्री र न्यानो लुगा सहयोग गर्न सरोकारवाला निकायसँग माग गरेका छन् । मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने आकलनले वाडिपिडितलाई चिन्ता बढेको छ । उनीहरुले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।




