प्रहरीले बाराको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।घटनाको सात महिनापछि प्रहरीले बुधबार बाराकै आदर्शकोतवाल गाउँपालिका-२ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुसवाहालाई पक्राउ गरेको हो ।
उनलाई मोरङबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए ।
२०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो ।प्रहरीकाअनुसार मृत्युअघि कुसवाहाले आफूमाथि सुरेन्द्रले गोली प्रहार गरेको बताएका थिए ।
उनको हत्यामा प्रयोग भएको हतियार पेस्तोल दुई थान पेस्तोल र सात थान गोली, चार वटा मोटरसाइकल र चार वटा मोबाइल, २ वटा ल्यापटप थान र ७ वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको थियो ।पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक अनुसन्धान भएको छ ।
घटनामा सुरेन्द्रसहित १७ जनाको संलगता रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।