
काठमाडौं - नेपाल पत्रकार महासंघको सात दशको ईतिहासमा पहिलोपटक केन्द्रीय समितिमा महोत्तरीले प्रतिनिधित्व पाएको छ । पत्रकार महासंघ महोत्तरीका निवर्तमान सचिव राजकरण महतो मंसीर २८ गतेको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
केन्द्रीय कार्यसमिति सदस्य(मधेशी खुल्ला) पदका उम्मेदवार महतोले विपक्षी प्यानलका उम्मेदवार चन्द्रदेव कामतीलाई १ हजार ३२८ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । निर्वाचित महतो देशभरीबाट कूल ३ हजार ८९३ मत प्राप्त गरेका थिए । मंगलवार प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले निर्वाचित महतोलाई एक समारोहका बीच निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
७२ वर्षको महोत्तरीको पत्रकारिता ईतिहासमा पहिलो पटक महतो केन्द्रीय सदस्यमा निर्वाचित भएसंगै यहाँका पत्रकारहरुको पहुँच केन्द्रमा पुगेको नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्व अध्यक्ष हरि प्रसाद मण्डलले बताए । पत्रकार महतोले हालै आमसञ्चार तथा पत्रकारिता बिषयमा स्नाकोत्तर गरेका छन् ।
महोत्तरीका पत्रकारहरु मध्य महतो पत्रकारिता बिषयमा स्नाकोत्तर गर्ने पहिलो पत्रकार समेत रहेको पूर्व अध्यक्ष ईश्वरी प्रसाद पौडेलले बताए । अन्नपूर्ण पोस्ट्का वरिष्ठ सम्वाददाता महतो भुईँमान्छेका सवालमा ढेड दशकदेखि कलम चलाउँदै आएका छन् ।