काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने रिहा भएका छन् । कास्की जिल्ला अदालतको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।
बिहीबार पोखरास्थित जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
जिल्ला अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने बिहीबार साँझ रिहा भएको रास्वपा नेता सोविता गौतमले जानकारी दिइन् । गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको छ । उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गरी कास्की प्रहरीले परिवारजनको जिम्मा लगाएको छ ।
सभापति लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिए । उनले न्यायालयप्रति सम्मान गर्ने बताए ।उनीसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालले बताए अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका छन् ।
न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लीला पछाईंसँग ३७ लाख, मीना गुरुङसँग पाँच लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरुङसँग पाँच लाख र कृष्णबहादुर गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग गरेका थिए । प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै छन् ।
पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये ७ जना थुनामा थिए ।