
महोत्तरी- सरस्वती पूजा नजिकिँदै जाँदा महोत्तरीका बजारमा मूर्तिकार र मूर्ति व्यवसायीहरूलाई मूर्ति बनाउन र सजाउन व्यस्त देखिएका छन् ।
माटोको मूर्ति बनाउने कुमालेहरू सरस्वती पूजाको अवसरमा सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका हुन् । बसन्तपञ्मीको दिन विद्याकी देवीको रुपमा चिनिने सरस्वतीमाताको प्रतिमालाई सजाई पूजा गर्ने चलन छ ।

सरस्वती पूजा नजिकीए संगै कलाकार लाई भ्याइ नभ्याइ भएको हो । उनीहरुले यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेका छन् ।महोत्तरीका शैक्षिक संस्था , टिउसन सेन्टर, निजी विधालय, कोचिङ्ग सेन्टरका विधार्थीहरुले दिएको अर्डर अनुसारको मूर्ति बनाउन र सजाउन साथै रंगरोगन गर्न यहाँका कारीगरहरु दिनरात मेहनत गर्दै खट्दै छन् ।

आजकाल महोत्तरीको औरही नगरपालिका २ फुलवरिया गाउँमा र एकडारा गाउँपालिका ५ बहेडा बजार चौक लगायतका स्थानमा कलकारहरु मूर्ति बनाउन व्यस्त देखिएका छन् । एउटा सरस्वतीको मूर्तिको २५ सयदेखि १५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनीहरूले बताएका छन् ।

सरस्वती पूजाको अवधिभरमा करीब १ लाखसम्मको आम्दानी गर्ने महोतरीको औरही नगरपालिकाका २ फुलवरियाका ६० वर्षीय मूर्तिकार दिनेश राम र सोहि ठाउँ बस्ने ४० वर्षीय कैलाश रामले बताए। अहिले बनाइएको र बुकिङ्ग भएको मूर्तिहरु लिन आउने ग्राहकको संख्या समेत बढेको र हाल सम्म दुई दर्जन भन्दा बढी मूर्ति तयार भईसकेको रामले बताए । बाँकी मूर्ति सजाउन अझ १० दिन लाग्ने बताएका छन् । भाग्यको कुरा छ, कुनै वर्ष सोचे भन्दा बढी आम्दानी हुन्छ । कुनै वर्ष त्यती फाईदा हुदैन रामले थपे ।
विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गरेको उनले जानकारी दिए । सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय लुकेको मूर्तिकार बताउँछन् ।बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी माघ २१ गते सोमबार देशभर मनाईने भएको छ ।

वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ। बालबालिकालाई सोही दिन अक्षरारम्भ गराउने चलन छ । चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार र विद्यार्थीले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धांगिनी ब्रह्मायणीको उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।गान्धर्व पुराणमा आज सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
रामले भने अहिलेको समय परिस्थिति र मूर्ति बनाउने काम प्रति नयाँ पुस्ताको घट्दै गएको रुचिका कारण पुख्र्यौली पेशा लोप हुँदै गइरहेको अवस्थामा स्थानीय सरकारले उनीहरुको सीपको जगेर्ना एवं संरक्षण गर्नुपर्ने आवश्यक्ता देखिएको छ ।




