
जनकपुरधाम- धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले प्रहरी कै अगाडि प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएको घटना सार्वजनिक भएको छ।
शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी नि.मा.वि. सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयर दासका छोरा राम भजन दासले साहमाथि कार्यकक्षमै प्रवेश गरी गाली गलौज गर्दै कुटपिट गरेका प्रशासकीय अधिकृत साहलाई प्रमुख दासले गोली हान्ने धम्की दिएका हुन् ।
सोमबार शिक्षिकालाई हाजिर गराउँदा नगर प्रमुखको छोरा दासले कार्यकक्षमै गालीगलौज गरी कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका प्रमुख प्रशासकीय अधिकृत साहलाई मंगलबार नगर प्रमुख दासले कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै गोली हान्ने धम्की दिएका उनले बताए ।
घटनाको जानकारी प्रमुख प्रशासकीय अधिकृतले धनुषाका प्रहरी प्रमुखलाई गराएका थिए ।
घटनापछि प्रहरी जवान विकास बस्नेत र विकास कुमार राय तथा वडा नं. ७ का अध्यक्ष राज किशोर सिंह घटनास्थलमा पुगेका थिए। तर प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमै मेयर दासले साहलाई गोली हान्ने धम्की दिएको बताइएको छ ।
'कार्यालयमा असुरक्षित भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट सुरक्षार्थ खटिएका प्रहरीकै अगाडि नगर प्रमुख दासले गोली हान्ने धम्की दिएको छ,' प्रशासकीय अधिकृत साहले भने,‘कुटपिट भएपछि कारबाहीको लागि प्रयास गर्दा नगर प्रमुखले गोली हान्ने धम्की दिएको हो ।’
नगर प्रमुखले धम्की दिएपछि जिल्ला प्रहरी र जिल्ला प्रशासनमा शान्ति सुरक्षा मागिएको छ । अधिकृत साह माघ २ गते विदेह नगरपालिकामा हाजिर भएर कार्यभार सम्हालेका थिए । कार्यालयमा आएदेखि नै धाकधम्की, अपशब्द, गालीगलौज गर्दै आएको साहले आरोप लगाए ।
साहले उक्त घटनापछि राम भजन दासलाई कुटपिटको आरोपमा र मेयर बेचन दासलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
साथै, उनले आफ्नो सुरक्षाको व्यवस्था मिलाउन र नयाँ कार्यस्थलको व्यवस्था नभएसम्म पूर्ण सुरक्षा प्रदान गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन् ।
