
ताप्लेजुङ। फुङलिङमा शनिबार साँझ सुरक्षाकर्मी र नो केबलकार पक्षबीच भएको झडपमा दुवैतर्फ गरी कम्तीमा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला बाहिर रेफर गरिएको छ।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ र आन्दोलनत पक्षका १२ जना घाइते भएको प्रारम्भिक जानकारी संकलन भएको छ। घाइतेमध्ये आन्दोलनरत पक्षका ३ जना र सुरक्षाफौजतर्फका १ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ। सुरक्षाकर्मीतर्फ ५ जना अस्पतालको शैयामै रहेर उपचार गराई रहेको डिएसपी रावलले जानकारी दिए।
प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको दाबी गरेको छ। गएराति हुल हुज्जत नियन्त्रण गर्ने क्रममा दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको प्रहरीले जनाएको छ। यता आन्दोलनरत पक्षले भने सुरक्षाकर्मीले राति आन्दोलनकारी बसेको घर तथा होटल छापामारी आन्दोलनकारीलाई कुटपिट गर्दै धरपकड गर्ने जस्ता शैली अपनाएको दाबी गरेको छ।
आन्दोलनरत पक्षका अगुवा कीर्तिमान मादेनले प्रहरीले सुतिरहेको ठाउँमा घर घेरामा हाल्ने, तोडफोड गर्ने र धरपकड गर्ने, कुटपिट गर्ने कार्य गरेको दाबी गरे। स्थिति नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनले आज बिहान ५ बजेदेखि फुङलिङ र पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाँडा क्षेत्रमा चारकिल्ला तोकी निषेधाज्ञा ज्ञारी गरेको छ।
गएसाँझ नो केबलकार पक्षले फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडप सँगै स्थिति तनावपूर्ण भएको हो। नो केबलकार पक्ष फागुन ६ देखि ८ गतेसम्म भएको पदयात्रा सकेर फुङलिङमा शनिबार साँझ राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए। सम्भावित आगलागीका घटना समेतलाई मध्यनजर गरी राँको नियन्त्रणमा लिने क्रममा झडप सुरु भएको स्थानीय सुरक्षा श्रोतले जनाएको छ।
आन्दोलनरत पक्षले आन्दोलनका क्रममा जे भयो, त्यो त्यही सीमित हुनुपर्नेमा सुरक्षाफौजले आन्दोलनकारीलाई लक्षित गरी घर-घर घेरा हाली धरपकड र कुटपिट गरेको दाबी गरेको छ।