
सुजाता राई
विराटनगर। नेकपा एमाले मोरङमा विनोद ढकाल पक्षधर प्यानल विजयी भएका छन् । एमाले संस्थापन पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर प्यानलका सबै पदाधिकारीलाई पराजित गरेर संस्थापन इतर पक्षधर ढकाल प्यानलका सबै उम्मेदवारले सानदार जित निकालेका छन् ।
एमाले मोरङको १०औं अधिवेशनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काठमाडौँबाट नै अध्यक्ष सहितका उम्मेदवारको नाम तोकेर पठाएका थिए । तर अधिवेशन प्रतिनिधिले त्यसलाई अस्वीकार गरिदिएपछि ओली पक्षले सर्मनाक हार बेहोरेको हो।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काठमाडौँबाट अधिवेशन प्रतिनिधिलाई फोन गरेर वडाध्यक्षदेखि प्रदेश र सङ्घीय सांसदको टिकट दिने आश्वासन दिएर आफ्ना पक्षधर उम्मेदवारलाई मतदान गर्न भनेका थिए ।
ओलीले एमाले कोशी प्रदेश इन्चार्ज एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सहितका नेतालाई अधिवेशन स्थलमै परिचालन गरेर आफ्ना पक्षधर उम्मेदवारलाई जिताउन पठाएका थिए । तर पनि अधिवेशन प्रतिनिधि टसमस नहुँदा ढकाल पक्षधर प्यानल जित निकाल्न सफल भएका छन् ।
एमाले मोरङको १०औं अधिवेशनबाट ढकाल पक्षधर अजम्बर राई अध्यक्ष पदमा निर्वाचित भएका छन् । ओली पक्षधर राजकुमार ओझालाई ३९ मतको अन्तरले पराजित गरेर राई अध्यक्ष पदमा निर्वाचित भएको हो । ढकाल पक्षबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तावा र उषा झा निर्वाचित भएका छन् ।