
चैत्र ७ गत्तेदेखि सुरु हुन लागेको एसईई परीक्षालाई व्यवस्थित गर्न मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ । परीक्षालाई व्यवस्थित एवम मर्यादित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले ८ वटै जिल्लाका प्रमुख अधिकारीलगायत सरोकारवाला निकायलाई विभिन्न सल्लाह, सुझाव का साथै निर्देशनसमेत दिनुभएको छ ।
सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा (एसईई) २०८१ संचालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय १ दिने अभिमुखिकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले यसपालीको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण सरोकारवाला निकाय, सुरक्षा निकाय, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गरेका छन् । उनले सुरक्षाको दृष्टिकोनले परीक्षा केन्द्रको मुल गेटमै सीसीटिभी क्यामेरा जडान गर्न प्रमुख जिल्लाअधिकारी र केन्द्राध्यक्षहरुलाई सुझाव दिएका छन् ।
कुनै विद्यार्थीले चोरी गरेको फेला परेको खण्डमा कक्षाकोठामा उपस्थित गार्डलाई कारबाही गर्न र कोही विद्यार्थीले मोबाइल परीक्षाकेन्द्रमा लगेमा उक्त मोबाई जफत गरी फिर्ता नदिईनेलगायतका नियम लागु गर्न मुख्यमन्त्री सिंहले सुझाव दिनुभयो ।
उनले प्रदेशमा सबैभन्दा राम्रो व्यवस्थापन र मर्यादित परीक्षा सञ्चालन गर्ने केन्द्राध्यक्षलाई प्रदेश सरकारले पुरस्कृत गर्ने घोषण गर्नुभयो । त्यसकालागि प्रदेश सरकारले विशेष टोली बनाई परीक्षाकेन्द्रहरुको अनुगमन गर्ने जानकारी दिए ।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले विद्यार्थीहरुले परीक्षामा बढी अंक ल्याउनु भन्दा बुझेर पढ्न आवश्यक रहेकोमा जोड दिनुभयो । उनले विद्यार्थीहरुले चोरी गरेर बढी अंक प्राप्त गरेर आगामी दिनमा आफूलाई नै अझ बढि समस्यामा पार्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले दिएको जानकारी अनुसार यस वर्ष मधेश प्रदेशमा ८८,८५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।